सिण्डिकेट फर्काउने कल्पना पनि नगरे हुन्छ : गृहमन्त्री थापा

लाेकपाटी न्यूज
0 Shares

काठमाडौँ, २७ असार । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले यातायात क्षेत्रमा एकाधिकार फर्काउने कुरा अब सम्भव नरहेको स्पष्ट पारेका छन् ।

बुधबार नयाँ बसपार्क गोंगबुमा युनाइटेड ट्रान्सपोर्ट ‘भलाइ एण्ड इन्भेस्टमेन्ट’ प्रालिले आयोजना गरेको ‘यातायात क्षेत्रको विद्यमान अन्यौलता, चुनौती र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले अझै एकाधिकार फर्काउने प्रयास भइरहेको भन्दै त्यो पूरा नहुने बताए ।

उनले भने, “अहिले पनि केही मुठिभर व्यवसायीको मात्रै एकाधिकार हुने, उनीहरुको समृद्धि हुने र यो क्षेत्रमा आउन खोजेका हजारौँ नयाँ व्यवसायीको बाटो रोक्ने गरी एकाधिकारलाई फर्काउने षड्यन्त्र भइरहेको छ । यसबारे सरकार सचेत छ ।”

उनले यातायात क्षेत्र मात्रै नभई कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा एकाधिकारले जरा गाडेको भन्दै देश विकासका लागि यो बाधक रहेको बताए । एकाधिकार रहेसम्म देशको विकास र समृद्धि सम्भव नभएको उनको भनाइ थियो ।

एकाधिकार हटाउने निर्णय यातायात व्यवसायी, मजदुर, यात्रु सबैका हितमा रहेको भन्दै गृहमन्त्री थापाले सबैको सहयोगबाट सरकार सफलतामा पुग्ने ठोकुवा गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्