लमजुङ, २६ असार । स्थानीयबासीले गरेको आग्रहलाई २४ घण्टा नबित्दै सम्बोधन गरेपछि लमजुङ जिल्लाका प्रमूख जिल्ला अधिकारी झङ्कनाथ ढकालको सेवा प्रवाह देखेर लमजुङका सेवाग्राही दङ्ग परेका छन् ।
लमजुङको सुन्दरबजार–९ फेदीकुनाका राजेन्द्र अधिकारीले सामाजिक सञ्जालबाटै प्रजिअ ढकाललाई आफ्नो समस्या टिपाएका थिए । अधिकारीले आफ्नो गाउँमा बिजुलीको पोल ढलेकाले काँचो रुखलाई खम्बा बनाएर तार टाँगिएको सूचना प्रजिअ ढकाललाई दिएका थिए । उनले विद्युत प्राधिकरणका कर्मचारीलाई गुहार्दा पनि काम नभएको भन्दै समस्या समाधानका लागि प्रजिअ ढकाललाई आग्रह गरेका थिए ।
कतारमा रहेका अधिकारीले फेदीकुनामा बिजुलीको तारले रुख छोएको, बकाइनाको रुखलाई पोल बनाएर बिजुलीको तार तानिएको र जुनसुकै बेला दुर्घटना हुनसक्ने जानकारी प्रजिअ ढकाललाई गराएका थिए । अधिकारीले विद्युत प्राधिकरणमा २ वर्षदेखि रिपोर्ट गरिए पनि कुनै सुनुवाई नभएको गुनासो ढकालसमक्ष गरेका थिए ।
अधिकारीको गुनासोपछि प्रजिअ ढकालले जिल्ला समन्वय समिति लमजुङका अधिकृत सुशीला श्रेष्ठसँग यस विषयमा विस्तृत जानकारीका लागि आग्रह गरे । अधिकृत श्रेष्ठले यस विषयमा आफूलाई जानकारी रहेको बताइन् । त्यसलगत्तै ढकालले नेपाल विद्युत प्राधिकरण, लमजुङ शाखा र लमजुङ विद्युत उपभोक्ता संस्थालाई तत्काल समस्या समाधानका लागि निर्देशन दिए । ढकालले तुरुन्तै काम नभए आफूलाई खबर गर्न पनि सेवाग्राही अधिकारीलाई अनुरोध गरे ।
त्यसपछि विद्युत प्राधिकरणका कर्मचारी पुगेर बिजुलीका सबै पुराना पोल हटाए, नयाँ पोल खडा गरे र फर्किए । नयाँ पोल गाडिएपछि फेदीकुनामा विद्युतमा समस्या नरहेको स्थानीय राजेन्द्र अधिकारीले बताए । ‘झङ्क सर हामीजस्ता निमुखाको लागि भगवानजस्ता हुनुहुन्छ भन्ने सुनेको थिएँ । आज प्रमाणित भयो’ हर्षित् हुँदै अधिकारीले भने ।
काम भएपछि प्रजिअ ढकालले फोन गरेर अधिकारीलाई काम भएको जानकारी दिए । अधिकारीले फेसबुकमा आफूले पहिलोपटक जनताको सिडियो भेटेको स्टाटस लेखे । तर, प्रजिअ ढकालले भने, ‘यो मेरो कर्तव्य हो, जनताको राजश्वबाट तलव खाएपछि जनताकै काम गर्नुपर्छ । लमजुङ जिल्लामा धेरै बेथिति छन्, ती सबैको क्रमशः समाधान दिन्छु ।’