काठमाडौँ । नेपाली कला, साहित्यको क्षेत्रमा क्रियाशील रहने गरि सहयात्री दर्पण नेपाल नामक संस्था स्थापना भएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संस्थाको उद्घाटन गरेका हुन् ।
संस्था उद्घाटनसँगै भगवती ढुङ्गेलद्वारा लिखित उपन्यास आधा सत्य विमोचन गर्दै मन्त्री पण्डितले सही लक्ष्य लिएर हिँडियो भने कुनै न कुनै दिन गन्तव्यमा अवश्य पुग्न सकिने भन्दै संस्थाले नेपाली भाषा साहित्यको क्षेत्रमा गर्व गर्न लायक काम गर्न सुझाव प्रकट गरे ।
कार्यक्रममा बरिष्ठ साहित्यकार माया ठकुरीले सहयात्री साँच्चै सहयात्री बन्न सक्नुपर्नेमा जोड ँिददै साहित्यको क्षेत्रमा उदाहरणीय काम गर्न आग्रह गरिन् ।
कार्यक्रममा समाजकल्याण परिषदका उपाध्यक्ष निलमणी बराल, बरिष्ठ साहित्यिक पत्रकार मोहन दुवाल साहित्यकार राधेश्याम लेकालीले संस्थाको उन्नतीको शुभकमना ब्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष गोबिन्द कँडेलले मोफसलमा र देश बाहिर रहेका लेखक साहित्यकारहरू एउटै मञ्चमा उभिएर कला साहित्यको क्षेत्रमा क्रियाशिल रहने उद्धेश्यले संस्था स्थापना गरेको बताए । नयाँ लेखकहरूलाई प्रोत्साहन गर्दै स्थापित साहित्यकारहरूलाई सम्मान गर्दै जाने बताउँदै अध्यक्ष कँडेलले मोफसल र देश बाहिर रहेका नयाँ लेखकहरूलाई प्रोत्साहन गर्दै अगाडी बढ्ने बताए ।