नेकपा : मिल्यो पार्टी, मिलेन मन

लाेकपाटी न्यूज
0 Shares

काठमाडौँ– देशभर आफ्नै पार्टीका धेरै नेता–कार्यकर्तालाई आश्चर्यमा पार्दै तत्कालीन एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले जेठ ३ गते पार्टी एकता गरे । कैयौँ नेताको असन्तुष्टिबीच जब ओली र प्रचण्डले दुई पार्टीलाई एकतामा धकेले, त्यसबेला बहस भएको थियो– पार्टी एकता त भयो, अब तत्कालीन एमाले र माओवादीका नेता–कार्यकर्ताको मन चाहिँ कहिले मिल्छ ?

पार्टी एकताका दुई महिना पुग्न थालेको छ । एकता गर्दा तीन महिनाभित्र सबै तहका सङ्गठनको एकता गर्ने नेकपाको कार्यसूची थियो । यसका लागि विभिन्न कार्यदल पनि बनेका छन् । यद्यपि आजसम्म केन्द्रमा बाहेक अन्य कुनै पनि कमिटीको एकता चाहिँ भएको छैन ।

पार्टी सङ्गठनभित्र एकताका लागि भैरहेको यो ढिलाइले साङ्गठनिक एकता त्यति सहज छैन भन्ने त बुझिन्छ नै, यसबाहेक दुवै पार्टीका नेता–कार्यकर्ताको मन अझै मिलेको छैन भन्ने सङ्केत पनि पाइन्छ ।

दुई पार्टीका नेता–कार्यकर्ताको विगतले उनीहरूको मन सजिलै मिल्दैन भन्न सक्ने ठाउँ पनि दिएको छ । कुनै बेला एकले अर्कालाई समाप्त पार्दा मात्र आफ्नो राजनीतिक भविष्य सुरक्षित ठान्ने तत्कालीन एमाले र माओवादीका नेता कायकर्ताबीच राजनीतिक–वैचारिक मात्रै होइन धेरै पटक सङ्गठनात्मक तनाव पनि भएको थियो ।

एमाले र माओवादी कार्यकर्तावीच कहीँ न कहीँ भावनात्मक एकतामा समस्या छ भन्ने उदाहरण असार ९ गते ४ नम्बर प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिमा झल्कन्थ्यो । नेपाल कम्युनिस्ट पार्टी नेकपा लमजुङको पार्टी कार्यालय उद्घाटन गर्दै नेता गुरुङले पार्टीको साङ्गठनिक एकतासँगै वैचारिक र भावनात्मक एकता हुन नसके एकीकरण उपलब्धिमूलक नहुने बताएका थिए ।

‘हिंसात्मक सङ्घर्षबाट माओवादी आएको छ, शान्तिपूर्ण आन्दोलनबाट एमाले आएको छ । अब पार्टी सङ्गठन एउटै भयो । दुवै पक्षका कम्युनिस्टले विचारलाई पनि एउटै बनाउनुपर्छ । पार्टीको साङ्गठनिक एकतासँगै वैचारिक र भावनात्मक एकता हुन नसके एकीकरण उपलब्धिमूलक हुँदैन ।’ मुख्यमन्त्री गुरुङले दुवैपक्षका नेता–कार्यकर्ताका बीच भनेका थिए ।

हुन त कतिपय नेता एमाले–माओवादीबीचको एकतालाई भावनात्मक एकताकै उपज पनि ठान्छन् । बामगठबन्धन भएपछि धेरैजसो नेताहरूले चुनावमा एकअर्का पार्टीका कार्यकर्तालाई विश्वासमा ल्याउन र भोट तान्न आफूहरूबीच भावनात्मक एकता भैसकेको पनि बताएका थिए । यद्यपि यस्तो अभिव्यक्ति उनीहरूका लागि चुनाव जित्ने एउटा ‘हतियार’ थियो ।

उता नेकपाका महासचिव विष्णु पौडेल एकीकृत पार्टीका तत्कालीन एमाले र माओवादीका नेता–कार्यकर्ताको मन मिलाउने प्रश्न जटिल र कठिन विषय भएको मान्छन् । तर उनी गठबन्धन निर्माणदेखि चुनावसम्म आउँदा भावनात्मकपक्ष मिलेपछि एकताको बाटो खुला भएको ठान्छन् ।

महासचिव पौडेल भन्छन्, ‘निःसन्देह मन मिलाउने प्रश्न जटिल र कठिन विषय नै हो । खासगरी असोज १७ गतेपछि हामी जसरी राष्ट्रिय राजनीतिमा प्रस्तुत भयौँ । साझा चुनाव चिन्ह, साझा घोषणा पत्र र साझा उम्मेदवार लिएर जनताका माझमा जाने हामीले जुन अभ्यास ग¥यौँ, त्यसदेखि यता हाम्राबीचमा मन मिलाउनका लागि त्यति धेरै कठिनाइ उत्पन्न भएन ।’

स्थानीय तहमा भएका निषेधपूर्ण गतिविधि र कतिपय अवस्थामा उत्पन्न हिंसापूर्ण तनावले तत्कालीन एमाले र माओवादीका कार्यकर्ताबीच मन मिलाउन समय पनि लाग्न सक्छ । यद्यपि राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन भन्ने सैद्धान्तिकपक्षलाई आधार मान्ने हो भने सबै तहका सङ्गठनात्मक एकतासँग नेकपा नेता–कार्यकर्ताको मनको पनि एकता हुनेछ । तत्काल चुनाव पनि छैन र लाभको पद लिने धेरै अवसर पनि नभएकाले अहिले ठूलो बहस नहुन पनि सक्छ । यो नेपकाका लागि सकरात्मक पक्ष हुन सक्छ ।

नेकपाका स्थायी समिति सदस्य अग्नि सापकोटा आश्र्चयजनक ढङ्गले भावनात्मक एकताको विकास भएको बताउँछन् । ‘हिजो एकअर्कालाई निषेध नै गर्नेगरी बहसमा उत्रेका दुई ठूला पार्टीमा अहिले नै पूरै तुष समाप्त भइसक्यो भनेर त म भन्दिनँ । तर आश्र्चयजनक ढङ्गले भावनात्मक एकताको विकास भएको छ । चाहे त्यो नेताकार्यकर्तामा, चाहे त्यो हाम्रा समर्थक शुभचिन्तकमा होस् ।’ सापकोटा भन्छन्, ‘बरु सबैले तल्लो तहका कमिटीको एकीकरण किन ढिला भैरहेको छ भनेर प्रश्न पनि उठाइरहेका छन् । सबैतिर उत्साहको वातावरण छ । सबै तहका एकीकरण तीव्र गतिमा जाओस् भन्ने आम चाहना छ । छिटफुट कहीँकतै तित्तता देखिनु त त्यो अस्वभाविक होइन । सबैको मन भावना ग्यारेन्टी मिल्छ । पुराना कुरामा कोही अल्झिँदैन ।’

नेकपाका केन्द्रीय सदस्य आनन्दप्रसाद पोखरेल नेताहरूबीच खुबै मन मिलेको बताउँछन् । उनी भन्छन्, ‘केन्द्रमा सबै नेताहरूको ट्याप्प मन मिलेको छ । अहिले कतै कुनै नेताहरूमा मनमुटाव छैन । सबै नेताबाट एउटै आवाज आएको छ । तल्ला कमिटीमा अहिले मन नमिले पनि एकीकरण भएपछि सबैको मन मिल्छ र एक ढिक्का भएर अघि बढ्छन् ।’

जब–जब तल्ला कमिटीको एकता प्रक्रिया अगाडि बढ्छ, आकाङ्क्षीको सङ्ख्या बढ्दै जान्छ । त्यस्तो बेला भावनात्मक चोट पुग्ने गतिविधि र अभिव्यक्ति आउन सक्ने खतरा पनि उत्तिकै छ । तत्कालीन एमाले बागलुङका जिल्ला सचिवालय सदस्य सञ्जय श्रेष्ठ यसको सङ्केत गर्छन् । श्रेष्ठका अनुसार विगतमा जस्तो मनमुटाव छैन ।

पार्टी एकतापछि जिल्लामा भएका कार्यक्रम संयुक्त हुने गरेका छन् । तर अहिलेसम्म सङ्गठन एकीकरण नहुँदा भने अन्योलता कायमै छ । दुवै तर्फका नेताहरू आ–आफ्नो ठाउँमा नेतृत्वको दाबी गरिरहेका छन् । श्रेष्ठ भन्छन्, ‘कुनै औपचारिक निर्णय भैसकेको छैन । दुवैतर्फका नेताहरू आफ्नो भागमा कुन पद पर्छ भन्ने पर्खाइमा छन् । एकीकरणको प्रक्रियामा गएपछि भने केही मनमुटाव आउन पनि सक्ला ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्