भदौ ३, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मातृकाप्रसाद यादवले राजनीति गर्ने कर्मचारीलाई नछाड्ने चेतावनी दिएका छन् ।
प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबार बसेको बैठकमा मन्त्री यादवले कर्मचारी नेता बन्दा काम गर्न अप्ठ्यारो भएको भन्दै त्यस्ता कर्मचारीको क्रियाकलापप्रति चासो राख्न समितिलाई आग्रह गरे ।
कर्मचारीको व्यवहार नसच्चिए विकल्प सोच्न मन्त्रालय बाध्य हुने बताउदै आयल निगमका कर्मचारीले राजनीति बढी गरेकाले त्यस्ता कर्मचारीको व्यवहारलाई मन्त्रालयले नसहने बताए ।
निगममा महाप्रबन्धक नियुक्तिका लागि परीक्षा भइसके पनि राष्ट्रिय आपूर्ति कम्पनी गठन भएकाले तत्काल नियुक्त गर्ने नगर्ने दुविधा भएको उनले स्पष्ट पारे । यसबारे मन्त्रालय छिटै निर्णयमा पुग्ने उनले बताए ।
मन्त्री यादवले नयाँ ग्याँस कम्पनी खोल्न रोक लगाएका कारण कतिपय स्थानमा ठूलो समस्या देखिएको उल्लेख गर्दै विषय र स्थान विशेषका आधारमा नियमनमा बढी चासो राख्न समितिलाई आग्रह गरे ।