काठमाडौँ, २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको पाँचवर्ष भित्रमा कोही पनि नेपाली गरीब हुनु नपर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले नेपालीलाई गरीबीमा बाँच्नै नसुहाउने बताउँदै पाँच वर्षभित्र गरीबी अन्त्य गरिने बताए । ओली वंश अक्षय कोषको वार्षिक साधारणसभा तथा पुरस्कार बितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, “स्रोत साधनले भरिपूर्ण रहेर पनि नेपाली गरीब हुन सुहाउने कुरा होइन” उनले थपे, “अबको पाँच वर्षपछि कोही पनि नेपालीले गरीब हुनुपर्दैन ।”
“कतिपय मानिस देश बनेन भनेर होइन, देश बन्ला भनेर पिरोलिएका छन्” उनले भने, “तर अब कोही पिरोलिएर देश नबन्ने होइन । बहुतै दृढताका साथ देशमा परिवर्तन ल्याउने काम हुन्छ ।”
कार्यक्रममा ओली वंशका तर्फबाट प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका पिता मोहनप्रसाद ओलीलाई अभिनन्दन गरिएको थियो ।