काठमाडौं असोज २ । सत्ता साझेदार दल संघीय समाजवादी फोरम नेपालले आफ्ना कार्यकर्तालाई संविधान दिवसको दिन कालो दिवस भनी आयोजना गरिने कुनै पनि कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ । फोरमले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
वर्तमान संविधानप्रति आफ्नो पार्टीको असहमति कायम रहेपनि संशोधनमार्फत ती संबोधन हुने सम्भावना देखेकाले संविधानको विरोध नगर्न र त्यस्ता कार्यक्रममा सहभागी नहुन भन्दै फोरमले सर्कुलर जारी गरेको छ ।
विज्ञप्तिमा भनिएको छ,– ‘संविधान सभाबाट जारी गराइएको संविधानप्रति पार्टीको असहमति, विरोध र फरक धारणा यथावत नै छ ।संविधान संशोधनको माध्यमबाट संविधानमा रहेका कमजोरीलाई सच्याउँदै प्राप्त अधिकारको संरक्षण गर्दै थप अधिकार प्राप्त गर्न हाम्रो पार्टी र सरकारमा रहेका दलसँग समझदारी भएकाले कालो दिवस मनाउने जस्ता कार्यक्रम बारे पार्टीले कुनै निर्णय नगरेको हुँदा त्यस्ता कार्यक्रममा सहभागी नहुन र कुनै भ्रममा नरहन आग्रह गर्दछौं ।’
२०७२ असोज ३ गते संविधान जारी गर्दा त्यसमा असहमति जनाउँदै मधेसी दलले लामो समय आन्दोलन गरेका थिए । त्यसमा फोरम नेपालको पनि मुख्य भूमिका थियो ।
मधेसको अर्को मुख्य दल राजपाले भने यसपाली पनि संविधान जारी भएको दिनलाई कालो दिनका रूपमा मनाउने घोषणा गरेको छ ।