नालीमा पसे फोहर उठाउन प्रजिअ ढकाल

लाेकपाटी न्यूज
0 Shares

बेसीशहर, २ असोज । गमक्क परेको खाइलाग्दो ज्यान । पुट्ट निस्केको भुँडी । अग्लो र गर्विलो ब्यक्तित्व । हातमा सेता पन्जा, खुट्टामा गमबुट लगाएर एक हुल मान्छेको अघिअघि नेतृत्वदायी भूमिकामा छन् उनी ।

अघिपछि सेना र प्रहरी पनि छन् । उही मान्छे जता जान्छ ती पनि त्यतै त्यतै । मानौं उ माहुरीको रानो हो । रानु जता जान्छ माहुरी त्यतै झुम्मिएजस्तो  ।

त्यही मान्छे कहिले बजारका नालीमा पस्छ, हातभरी फोहर निकालेर अरूलाइ पुग्न दिन्छ । कहिले नालीको छेउका झार उक्काउँछ । उसको सिको गर्दै हुलका अरू पनि नालीको छेउछाउ, सडकमा फालिएका फोहर उठाउँछन्  ।

कसैका हातमा कुचो पनि छ, कसैका हातमा थैला, कोही डोकोमा फोहर उठाउँदै छन् । तीनको बीचमा त्यही मोटो मान्छे वरपर रमिता हेरीरहेका मान्छेहरूलाइ आफ्नो घरवरपर सफासुग्घर राख्न, दिनमा एकपटक कम्तीमा ५ मिनेट घरवरपर सरसफाइ गर्नुहोन् है भन्दै हिँडेका देखिन्थे ।

https://lokpati.com/wp-content/uploads/2018/09/Jhamka-Dhakal-2.jpgसरसफाइ अभियानमा सहभागीहरू हेर्दा कुनै कार्यालयको हाकिम जस्तो देखिने ब्यक्तित्व भए पनि सडकका नाली नाली पस्दै फोहोर  उठाउँदै गर्दा हाकिम हो भनेर कसैले पत्याएन । न निम्नस्तरको कर्मचारी हो नै भन्न कसैले सके ।

सोमबार बिहान बेसीशहरको करपुरेश्वर चोकमा उभिरहँदा सुन्दरबजार नगरपालिका वडा नं। २ पुर्काङका तीर्थराज सेढाइँलाइ यस्तै जिज्ञासा भयो । नजिकै उभिएका पूर्व शिक्षक विष्णु अधिकारीसंग जिज्ञासा राखे ।

बेसीशहर नगर विकास समितिका पूर्व अध्यक्ष भुपाल दनाइले फोहोर उठाउने त्यो मोटो मान्छे सिडिओ हुन् भनेपछि सेढाइँ तीनछक परे ।

नालीबाट फोहोर निकाल्दै प्रजिअ ढकाल

“सिडिओ जस्तो मान्छे पनि सडक सडक, नाली नाली फोहोर टिप्दै हिँडेको मैले अहिलेसम्म देखेको थिइन् ” उनले भने । सामान्य मान्छे पनि सडकको दुर्घन्धित नालीमा नाक छोपेर हिँडेको देखेका उनलाइ नालीमै पसेर फोहोर टिप्ने मान्छे सिडिओ हो भन्दा शुरूमा पत्याउनै मुश्किल पर्यो ।

उनले भने “यस्तो ठूलाबडा मान्छेले आफ्नो घर अगाडि आएर फोहोर टिपेको देख्दा लाज मानेर अबदेखि आफै फोहोर उठाएर फाल्ने गरे त ठीकै हो, तर यहाँका मान्छे अहिले आएझैं फेरि अर्को दिन पनि यसरी नै फोहोर उठाउन आइहाल्छन् नि भनेर कुरेर बस्लान् जस्ता छन् ।”

संविधान दिवस जिल्ला समारोह समिति लमजुङको आयोजनामा बेसीशहर  बजार क्षेत्रमा मंगलबार चलाइएको सरसफाइ अभियानको कुरा हो यो । यस अभियानमा सहभागी सबैले नाली, सडक तथा सडकपेटीबाट उठाइएका फोहर बोरा, डोकामा हालेर  त्यही ट्याक्टरमा फालेका थिए ।

फोहर व्यवस्थापनको सन्दर्भमा जथाभावी फोहर नफालौं , तोकिएको स्थानमा मात्र फोहर व्यवस्थापन गरौ, सडक र पैददयात्री हिड्ने मार्गमा जथाभावी निर्माण सामग्री, ठेलागाढा नराखौं सहितका जनचेतना फैलाउने काम गरिएको थियो ।

मंगलबार बिहान ७ बजेदेखि शेरा बजार, विदाई चौतारी हुँदै फुलवारी मञ्च सम्म सरसफाइ कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा जिल्ला समन्वय समितका संयोजक लोकराज पाण्डे,  प्रमुख जिल्ला अधिकारी  झंकनाथ ढकाल, प्रनाउ यादव ढकालसहित राजनीतिक दलका नेता कार्यकर्ता, जनप्रतिनिधि, स्थानीय ब्यापारी, संघसंस्थाका प्रतिनिधि, आमा समूहका प्रतिनिधि तथा सुरक्षाकर्मी, बेशीशहर नगर क्षेत्रका युवा क्लव, टोल सुधार समितिका सदस्यहरू, निजी क्षेत्रका बैक, वित्तिय क्षेत्रसहित अन्य निजी क्षेत्रका प्रतिष्ठानहरू, सहकारी संस्थाहरू सहभागी थिए ।