प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्ने

https://lokpati.com/wp-content/uploads/2018/09/Donald-trum-with-oli.png
लाेकपाटी न्यूज
0 Shares

संयुक्त राष्ट्रसङ्घको ७३ औं महासभामा भाग लिनको लागि प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका जाँदैछन् । महासभाको कार्यक्रममा सहभागी हुने क्रममा ओलीले अमेरिकाको न्यूयोर्कमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सँग संक्षिप्त भेटवार्ता गर्ने भएका छन् ।

असोज ८ गते राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क पुग्ने सबै विदेशी राष्ट्रप्रमुख तथा सरकारप्रमुखको सम्मानमा अमेरिकी राष्ट्रपति ट्रम्पले रात्रि भोजको आयोजना गर्नेछन् ।

सोही रात्रिभोजमा सहभागी हुनेक्रममा प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति ट्रम्पबीच संक्षिप्त भेटवार्ता हुने तय भएको छ । भेटवार्तापछि प्रधानमन्त्री ओली र राष्ट्रपति ट्रम्प दम्पतीबीच सामूहिक तस्बिर लिने कार्यक्रम छ ।

भेट बढीमा दुई मिनेटको हुने परराष्ट्र स्रोतले जनाएको छ । “असोज ८ गते साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँकी श्रीमतीद्वारा आयोजना गरिने रात्रि भोजमा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी श्रीमती राधिका शाक्य सहभागी हुनुहुनेछ,” परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रसंघको महासभाका बेला अमेरिकी राष्ट्रपतिले न्यूयोर्कमा आयोजना गर्ने रात्रिभोजमा अमेरिकासँग सम्बन्ध बिग्रेका र तानाशाहहरुलाई निम्तो दिइँदैन । तत्कालिन राजा ज्ञानेन्द्रले उक्त भोजमा सहभागी हुने निमन्त्रणा अमेरिकी राष्ट्रपतिबाट नपाएपछि राष्ट्रसंघको महासभामा सहभागी हुने आफ्नो कार्यक्रम नै रद्द गरेका थिए ।

प्रधानमन्त्री ओलीले राष्ट्रसंघको महासभालाई असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम छ । महासभामा सहभागी हुने क्रममा न्यूयोर्कमा उनले स्वीट्जरल्याण्डका राष्ट्रपति एलियन बेरसेट र कम्बोडियाका प्रधानमन्त्री समदेचसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेससँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली करिब दुई दर्जन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दैछन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्