मन्त्री बिना मगरको शुक्रबार, यस्तो छ ढल र खानेपानीको अवस्था (प्रतिवेदनसहित)

bina magar
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ५ असोज । खानेपानी मन्त्रालयले काठमाडौं उपत्यकाका केही सरकारी र निजी अस्पताल लगायत शुक्रबार देशैभरिका अस्पताल, अपार्टमेन्ट र उद्योगबाट निस्कने ढलको अनुगमन गरेको छ ।

खानेपानी मन्त्री बिना मगरको नेतृत्वमा रहेको अनुगमन टोलीले काठमाडौं र ललितपुरका केही अस्पताल, अपार्टमेन्ट र संयुक्त आवासबाट निष्काशित ढल तथा खानेपानीको अवस्थाका बारे निरीक्षण गरेको हो भने देशै भरिका अन्य जिल्लामा खानेपानी मन्त्रालय मातहतका कार्यालयहरुले अनुगमन गरेको हो ।

मन्त्रालयले शुक्रबार बीर अस्पताल, ग्राण्डी हस्पिटल, महाराजगञ्ज शिक्षण अस्पताल, सेन्ट्रल बिजनेश पार्क, पाटन अस्पताल, हात्तिवनको नमुना बस्ती र भैसेपाटी स्थित वाई वाई चाउचाउ उद्योगबाट निष्काशित हुने ढलको अनुगमन गरेको हो । प्रारम्भिक प्रशोधन गरेर मात्र ढल फाल्नुपर्ने नीतिगत व्यवस्था गर्न लागिएको हुँदा मन्त्रालयले ढलको अनुगमनलाई तीव्रता दिएको छ ।

मन्त्री बिना मगरले ढललाई प्रारम्भिक प्रशोधन गरेर मात्र फाल्नुपर्ने व्यवस्था गर्न लागिएको जानकारी दिइन् । उनले भनिन्, ‘होटेल, अस्पताल, अपार्टमेन्ट र उद्योग कलकारखानाहरुले अब सिधै ढल फाल्न पाइदैन । अबदेखि प्रारम्भिक प्रशोधन गरेर मात्र फाल्ने व्यवस्था गर्न लागेका छौं ।’

अस्पतालबाट तरल पदार्थ जन्य फोहोरहरु सिधै ढलमा फालिने र सो तरल पदार्थ जन्य फोहोरले वातावरण र मानव स्वास्थ्यमा सिधै असर पर्ने भएकाले त्यसलाई अन्त्य गर्न प्रारम्भिक प्रशोधन प्रणाली अनिवार्य लागु गर्न लागिएको मन्त्री मगरले बताइन् ।

अनुगमनको क्रममा उनले डिप बोरिङ मार्फत प्रयोग भइरहेको पानीको मात्रा मापन गर्न स्वचालित प्रणाली (सेन्सर सिस्टम) अवलम्बन गर्न लागिएको पनि जानकारी दिइन् । यो प्रणालीले कति पानी खपत भयो भन्ने कुराको निर्धारण गर्दछ ।bina magar 2

उनले भनिन्, ‘खानेपानीको शुल्क तिरेर सुविधा लिइरहेका आम जनताले ढलको सुविधा पनि लिएका छन्, जुन स्वभाविक हो । तर खानेपानीको पाइप लाइन नजोडिएका र ढलको सुविधा लिइरहेका अस्पताल, उद्योग कलकारखाना, शिक्षण संस्था र अपार्टमेन्ट लगायतका व्यावसायिक क्षेत्रहरुलाई ढल प्रयोगको दायराभित्र ल्याउने तयारी भइरहेको छ ।’

यसका लागि ढलको व्यवस्थापन गर्न र मापदण्ड तय गर्न खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टको संयोजकत्वमा एक समिति गठन समेत गरिएको छ । उक्त समितिले खोलामा सिधै मिसाइने गरेको ढलको निश्चित मापदण्ड निर्धारण गरी लागू गर्ने छ ।

शुक्रबारको अनुगमन प्रगति प्रतिवेदन

आज मिति २०७५।६।५ गते माननीय खानेपानी मन्त्री श्री बिना मगरज्यूको नेतृत्वमा श्रीमान् सचिवज्यू लगायत मन्त्रालय, विभाग, बोर्ड, KUKL र PID का पदाधिकारीको उपस्थितिमा काठमाण्डौ र ललितपुरका विभिन्न हाउजिङ, अपार्टमेन्ट, हस्पिटल र उद्योगहरुमा भइरहेको पानीको प्रयोगको अवस्था र ढल व्यवस्थापनका विविध पक्षहरुको निरीक्षण गर्ने कार्य सम्पन्न भयो । उक्त निरीक्षण कार्यको बिवरण यस प्रकार रहेको छ ।

१. वीर हस्पिटल, काठमाडौं
१. काठमाडांै उपत्यका लिमिटेडबाट बितरण गरेको धाराबाट हप्तामा १ पटक पानी आउने हुँदा अस्पतालले दैनिक माग १,२०,००० लिटर प्रतिदिन पूर्ति गर्न भूमिगत जलश्रोत प्रयोग गरिएको ।
२. डिप बोरिङ संख्या : १, अनुमति पत्र नलिएको ।
३. पिउने प्रयोजनका लागि रिभर्स ओसमोसिस (RO) प्रशोधन प्रणाली जडान गरिएको ।
४. अस्पतालबाट उत्पन्न हुने फोहरमैला (Solid Waste) लाई अटो क्लेभ (Auto Clave) प्रयोग गरेर मात्र व्यवस्थापन गरिएको ।
५. फोहर पानी (Liquid Waste) का लागि कुनै पनि प्रशोधन केन्द्रको स्थापना भएको नपाइएको । सिर्जित फोहर पानी सिधै ढल प्रणालीमा मिसाइने गरेको ।

२. ग्राण्डी हस्पिटल, धापासी, काठमाडौं
१. भूमिगत श्रोतको पानी उपयोग गरिएको ।
२. डिप बोरिङ संख्या : २, अनुमति पत्र लिएको संख्या : २
३. दैनिक पानी उपयोगको परिमाण १,२५,००० लिटर ।
४. Solid Waste लाई अटो क्लेभ (Auto Clave) प्रयोग गरेर व्यवस्थापन गरिएको ।
५.Liquid Waste को पनि प्रशोधन गरी व्यवस्थापन भएको ।
६. पानी प्रशोधन केन्द्रबाट (१,८०,००० लिटर प्रतिदिन) प्रशोधनमा ल्याइएको ।

३. टिचिङ हस्प्टिल, महाराजगञ्ज, काठमाडौं
१. भूमिगत श्रोतको पानी उपयोग गरिएको ।
२. डिप बोरिङ संख्या : ४, अनुमति पत्र लिएको संख्या : १
३. नेपाल सरकारबाट १ वटामा भूमिगत श्रोत जडानमा लगानी गरिएको ।
४. दैनिक पानी उपयोगको परिमाण ६–८ लाख लिटर प्रतिदिन । आरो (RO) सिस्टम रहेको ।
५. Solid Waste को व्यवस्थापन भएको ।
६.Liquid Waste को व्यवस्थापन नभएको ।

४. सेन्ट्रल विजनेस पार्क, थापाथली, काठमाडौं
१. भूमिगत श्रोतको पानी उपयोग गरिएको ।
२. डिप बोरिङ संख्या : १, अनुमति पत्र लिएको ।
३. दैनिक पानी उपयोगको परिमाण ४०,००० लिटर ।
४. Solid Waste को व्यवस्थापन भएको ।
५.Liquid Waste को व्यवस्थापन नभएको सिधै ढल प्रणालीमा मिसाइएको ।

५. बज्र एण्ड सांग्रिला, सानेपा, ललितपुर
१. भूमिगत श्रोतको पानी उपयोग गरिएको ।
२. डिप बोरिङ संख्या : १, अनुमति पत्र लिएको ।
३. दैनिक पानी उपयोगको परिमाण ६०,००० लिटर ।
४. Solid Waste को व्यवस्थापन भएको ।
५.Liquid Waste को लागि स्क्रिनिङ सिष्टम (Screening system) प्रयोग गरिएको ।

६. पाटन हस्पिटल, ललितपुर
१. भूमिगत श्रोतको पानी उपयोग गरिएको ।
२. डिप बोरिङ संख्या : २, अनुमति पत्र नलिएको ।
३. दैनिक पानी उपयोगको परिमाण ४,००,००० लिटर ।
४. Solid Waste को व्यवस्थापन भएको ।
५. Liquid Waste को व्यवस्थापन नभएको ।

७ नमूना बस्ती, हात्तिवन, ललितपुर
१. भूमिगत श्रोतको पानी उपयोग गरिएको ।
२. डिप बोरिङ संख्या : २, अनुमति पत्र नलिएको ।
३. दैनिक पानी उपयोगको परिमाण ४०,००० लिटर ।
४. Solid Waste को व्यवस्थापन भएको ।
५. Liquid Waste को व्यवस्थापन भएको । प्रशोधनपछि खोलामा मिसाइएको ।

८. वाईवाई चाउचाउ उद्योग, भैंसेपाटी, ललितपुर
१. काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट १/२ को पानीको लाइन लिएको । KUKL र वाईवाई चाउचाउ उद्योगबीच २०५१।०५२ मा भएको सम्झौताअनुसार पानी महशुल वापत प्रतिमहिना २,६२,०००।– शुल्क लिने व्यवस्था भएको ।
२. भूमिगत श्रोतको पानी उपयोग नगरिएको ।
३. दैनिक पानी उपयोगको परिमाण ५०,००० लिटर ।
४. Solid Waste को व्यवस्थापनका लागि सेडिमेन्टेशन सिष्टम (Sedimentation system) व्यवस्था गरिएकोे ।
५. Liquid Waste को व्यवस्थापन नभएको ।

९. प्रदेश र जिल्लामा अनुगमन
१. सात वटै प्रदेशका जिल्लाहरुमा खानेपानी र ढलको अवस्थाबारे अनुगमन गरिएको ।
२. कतिपय जिल्लाको रिपार्ट आउन बाँकी ।
३. सबै जिल्ला स्थानहरुमा थप अनुगमन गरिने ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्