चितवन, ८ असोज । पुर्व प्रधानमन्त्री एवं नेकपा का अध्यक्ष पुष्पकमल दाहालले देशको समृद्धिका लागि पहिला विकासको मोडेल निधो गर्नुपर्ने बताए । जिल्ला समन्वय समिति चितवनको दोस्रो जिल्ला सभाको उद्घाटन गर्दै उनले कुनै क्षेत्रको विकास गर्दा कुन विषयलाई प्रथामिकतामा राख्ने ,कति समयभित्र सम्पन्न गर्ने भन्ने विषयको निधो गरेर मात्र काम थालनी गर्नुपर्ने धारणा राखे ।
मैले पहिलादेखि नै भन्दै आईरहेको छु, उनले भने,“मुख्य आवश्यकता के छ त्यसलाई प्रथामिकतामा राखौं । योजनाहरु छनोट गरेर बजेट अनुसार कार्यलाई आरम्भ गरेर चितवनबाट नयाँ सन्देश फैल्याऔं ।”
प्रचण्डले अब भाषण गरेर भन्दा काम गरेर जनतालाई देखाउने समय आएको उल्लेख गरे । अहिले विकास गर्न सबै कुराले साथ दिएको भन्दै उनले यो समयमा विकासका निम्ति एकजुट भएर अघि बढ्नुपर्ने बताए । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको पनि देश विकासका विषयमा सहयोग छ, उहाँले भने ,“यस्तो मौकामा पनि विकास गर्न सकिएन भने सम्पुर्ण नेपालीको लागि दुःखको कुरा हुन्छ । सबैले यो कुरा बुझ्न जरुरी छ ।”
कार्यक्रममा बोल्दै पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सबै विकास एक पटक नहुने जिकिर गरे । थोरै बजेटमा धेरै विकास गर्छु भन्न थाल्यो भने कुनै पनि योजना सफल नहुने बताए । एउटा कामलाई निष्कर्षमा पुर्याएर अर्को कामको थालानी गर्नुपर्नेमा जोड दिए ।
चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेलले चितवनका धेरै भाग विकासबाट बञ्चित रहेको उल्लेख गर्दै त्यसतर्फ पनि सबैको ध्यान जान आवश्यक रहेको बताए । विकासलाई शहर केन्द्रीत मात्र नभएर गाँउ केन्द्रीत पनि गराउनुपर्ने धारणा उनको थियो ।