‘प्राविधिक शिक्षामा जोड दिन्छु’ : मेयर रेनु दाहाल

Renu-Dahal chitwan
लाेकपाटी न्यूज
0 Shares

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले व्यावहारिक र गुणस्तरीय शिक्षा अबको आवश्यकता भएको बताएकी छिन् । श्री किरण अम्मरजङ्ग गुरूङ्ग मा.वि. रानीपोखरीको स्वर्ण स्तम्भको शिलान्यास गर्दै महानगर प्रमुख दाहालले यस्तो बताएकी हुन् ।

समयअनुसार राष्ट्रको आवश्यकता पूरा गर्न वैज्ञानिक, व्यावहारिक र जीवनोपयोगी शिक्षा प्रणालीको विकास गर्दै यसलाई अभियानको रूपमा अगाडि बढाउनुपर्ने दाहालको जोड थियो । कार्यक्रममा दाहालले सामुदायिक विद्यालयहरूले विद्यार्र्थी, अभिभावकहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्न सक्षम छ भन्ने विश्वास दिलाउन आवश्यक भएको बताइन् । उनले अब सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका, कर्मचारीहरू पनि प्रतिस्पर्र्धी हुनुपर्नेमा जोड दिइन् ।

दाहालले संघीय गणतन्त्र घोषणासँगै विद्यालय शिक्षा स्थानीय निकाय मातहत आएको भन्दै महानगरपालिका भित्रका शिक्षण संस्थाहरूमा नियमन र अनुगमन गर्दै अगाडि बढाउने बताइन् । सामुदायिक विद्यालयहरूको स्तरोन्नति र गुणस्तर कायम गर्नु प्रमुख आवश्यकता रहेको बताउँदै दाहालले महानगरपालिकाले यस सम्बन्धी काम अगाडि बढाइरहेको जानकारी दिइन् ।

किरण माविको स्वर्ण स्तम्भ निर्माणका लागि भरतपुर महानगरपालिकाले आवश्यक बजेट विनियोजन गरेको थियो । आउँदा दिनहरूमा पनि महानगरपालिकाले रचनात्मक सहयोग गर्ने प्रतिवद्धता दाहालले व्यक्त गरिन् ।

प्रमुख दाहालले भरतपुर महानगरपालिका दिगो र आत्मनिर्भर विकासको पक्षमा अगाडि बढिरहेको भन्दै ठूला पूर्वाधारहरू रिङ्गरोड, लिङ्करोड, सिटीहल, रानीपोखरी पार्क निर्माणको काम पनि अगाडि बढिरहेको बताइन् । सिटीहल, अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान गौरवको आयोजनाको रूपमा अगाडि बढाइएको बताइन् ।

भरतपुर महानगरपालिकालाई विकासको नमुना बनाउने आफ्नो एकमात्र उद्देश्य रहेको बताउँदै स्थानीय जनताको आवश्यकताको आधारमा विकासका कार्यक्रमहरू अगाडि बढाउने बताइन् । सडक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, र पर्यटन क्षेत्रको समुचित विकास एवं सुशासनको क्षेत्रमा भरतपुर महानगर अगाडि बढिरहेको उनको भनाइ थियो ।

कार्यक्रममा भरतपुर महानगर वडा नम्वर १९ का अध्यक्ष कर्णबहादुर गुरुङ्गले विद्यालयले प्राविधिक शिक्षा सञ्चालन गर्न लागेकोमा खुसी व्यक्त गर्दै आफ्नो तर्फबाट विद्यालयलाई सधँै साथ र सहयोग रहने बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्