पोखरा, १० असोज । कास्कीको पोखरा महानरगपालिका–२२, पुम्दीभुम्दीको कोदीमा एक बालिकाको बलात्कार पछि हत्या भएको छ ।
सोमबार साँझ ६ बजे तिर बिस्कुट किन्न भनेर पसल हिँडेकी १० वर्षीया श्रेया बिकको बलात्कार पछि हत्या भएको अवस्थामा मंगलबार बिहान शव फेला परेको हो ।
घरबाट पसल जाने बाटोमा पर्ने खोल्सा छेउको झाडिमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको थियो ।
प्रहरीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम रिपोर्ट अनुसार बालिकाको बलात्कार पछि हत्या गरिएको बताएको छ ।
बालिकाले लगाएको कपडा खोलिएको र माथिल्लो भागको कपडा घाँटीसम्मै सोहरिएको अवस्थामा उनको शव फेला परेको र शवको छेउमै रगत लतपतिएका तीनवटा ढुंगा पनि भेटिएको प्रहरीले जनाएको छ ।
उनी स्थानीय लीला आधारभूत विद्यालयमा ३ कक्षामा पढ्दै आएकी थिइन् । उनका बाबुले दोस्रो विहे गरेपछि उनी आमासँगै मामा घरमा बस्दै आएकी थिइन् । आइतबार उनी स्कुलबाट आएर खाजा खान पाँच रुपैयाँ लिएर पसल हिँडेकी थिइन् ।