डाक्टरले गरे आफ्नै अपहरणको नाटक, यस्तो छ कारण

Dating
लाेकपाटी न्यूज
0 Shares

सिरहा १० असोज । मंगलबार साँझ ७ बजेतिर सिरहा प्रहरीमा एक महिलाले फोन गरिन् डाक्टर सुवास बनैता यादवकी श्रीमतीले फोनमा भनिन् “मेरा श्रीमानलाई ४ र ५ जना अज्ञात व्यक्तिले सेतो गाडीमा जबर्जस्ती उठाएर लगे” ।

उनको फोनपछि प्रहरीले अपहरणमा परेका भनिएका डाक्टरको हुलिया राजमार्गदेखि सीमा सुरक्षामा खटिएका प्रहरीलाई जानकारी गरायो ।
अपहरित डाक्टर खोज्न चारैतिर प्रहरी परिचालित भयो । रातको २ बजेसम्म प्रहरीले राजमार्गमा गुड्ने गाडीदेखि सीमानामा खोजी थालियो । तर उनी कतै भेटिएनन् ।

प्रहरीले उनको हुलिया लिएर सर्लाहीमा पनि खोजी गर्यो । राति २ बजे नवलपुरमा म २ प ८२८६ नम्बरको मोटरसाइकलको पछाडि बसेका व्यक्तिसँग उनको हुलिया मिल्यो ।

सुरूमा त उनले प्रहरीसँग आफ्नो परिचय लुकाउन प्रयास गरे केही समय उनले आफू त्यो मान्छे नभएको जिकीर गरे । उनले भाग्न पनि प्रयास गरे । प्रहरीले सोधे, “तपाईंकी श्रीमतीले अपहरणमा परे भन्दै फोन गर्नु भएकोछ” ।

उनले भने “त्यो गलत खबर हो म काममा हिँडेको हुँ” । प्रहरीको लामै केरकारपछि अपहरणमा परेका भनिएका डाक्टर उनै भएको पुष्टि भयो । नवलपुर प्रहरीले उनलाई लहान प्रहरीको जिम्मा लगायो ।

डाक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको सिरहा प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले बताए । “उहाँकी श्रीमतीले श्रीमान अपहरणमा परे भन्दै प्रहरीमा खबर गर्नुभयो” । एसपी श्रेष्ठले भने, “प्रहरीसँग डाक्टरले आफूखुसी हिँडेको र कसैले अपहरणमा नगरेको बताउनुभएको छ । हामी अनुसन्धान गर्दैछौं ।

अपहरणमा परेका भनिएका डाक्टर प्रेमिका भेट्न हेटौंडा जान लागेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनी केही महिनाअघिसम्म हेटौंडास्थित एक सहकारी अस्पतालमा काम गर्थे । अस्पतालमै एक युवतीसँग उनको प्रेम गाँसियो ।

त्यो कुरा परिवारलाई थाहा भयो र उनलाई हेटौंडाबाट लहान लगियो । प्रेमिका भेट्न उनले अपहरणको नाटक रचेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।