काठमाडौं, ११ असोज । कूटनीतिक राहदानी (रातो पासपोर्ट) वाहक व्यक्तिले अब सरकारी कामको सिलसिलासँगै ‘अन्य विशेषकाम’ का लागि पनि राहदानी प्रयोग गर्न पाउने भएका छन् ।
राहदानी उैन संशोधन गर्न बनेको विधेयकमार्फत् संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कूटनीति राहदानी प्रयोगको दायरा बढाएको हो । विशेष काम कस्तो कस्तोलाई मान्ने ? भन्ने परिभाषा विधेयकले गरेको छैन ।
कूटनीतिक र विशेष राहदानी प्रयोगको व्यवस्था नियमावली वा कार्यविधिमार्फत तोक्नेगरि विधेयकमा सहमति गरिएको छ । कूटनीतिक राहदानी सरकारी कामको सिलसिलामा मात्र प्रयोग गर्न पाउने गरी सरकारले ल्याएको मूल विधेयक संसदले परिमार्जन गरेको हो ।
विशेष काम भन्ने शव्दावली थपेर प्रयोगको कायृविधी समेत नियमावली वा निर्देशिकामार्फत तोक्नेगरि संसदले घुमाउरो बाटोबाट व्यक्तिगत कामका लागि समेत उक्त राहदानी प्रयोग गर्न पाउने विकल्प खोलेको हो ।
मूल विधेयकले कूटनीतिक र विशेष राहदानी सरकारी कामका लागिमात्र प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ । समितिले पारित गरेको प्रतिवेदन मङ्गलबार प्रतिनिधिसभामा पेस भएको छ ।
समिति सभापति पवित्रा निरोला खरेलले समयसापेक्ष तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन क्षेत्रमा भएका परिमार्जन अनुसार विधेयक तर्जुमा गरिएको बताईन् ।