रबर उद्योग सञ्चालन गर्ने प्रदेश सरकारको निर्णय

Gorkhkali Rubber Factory
लाेकपाटी न्यूज
0 Shares

गोरखा १२ असोज । ४ वर्षअघि नै बन्द बन्द गोरखकाली रबर उद्योग सञ्चालन गर्न प्रदेश सरकारले चासो देखाएको छ । देशकै १ मात्र रबर उद्योग सञ्चालनका लागि सरकारले चासो देखाएको हो ।

गोरखा नगरपालिका १४ मझुवा देउरालीस्थित गोरखकाली रबर उद्योगले झन्डै ४ वर्षदेखि टायर उत्पादन गर्न सकेको छैन । उद्योगमा कार्यरत कर्मचारीले ३८ महिनादेखि तलब तथा अन्य सुविधा पाएका छैनन् ।

२०७५ सालको असार मसान्तसम्म मात्रै २१ करोड ६० लाख ६१ हजार रुपैयाँ कर्मचारी र मजदुरको तलबमा भुक्तानी गर्नुपर्ने देखिन्छ । उद्योगमा ९७ जना कर्मचारी र १ सय ३५ जना मजदुर कार्यरत छन् ।

उद्योगको अवस्थाबारे बिहीबार गण्डकी प्रदेश सभाको अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला नेतृत्व टोलीले स्थलगत अध्ययन एवं त्यहाँ कार्यरत कर्मचारी र मजदुरसँग छलफल गरेको छ । २०४९ सालबाट उत्पादन सुरु गरेको रबर उद्योग २०७१ साल चैत २३ गतेबाट ठप्प छ ।

स्थलगत अनुगमनका क्रममा समितिका सभापति कोइरालाले उद्योग प्रदेशको मात्रै नभई देशकै प्रतिष्ठा भएकाले जसरी पनि सञ्चालन गर्नुपर्ने बताएका छन् । ‘यो हाम्रो मात्रै होइन नेपालकै गौरव हो, प्रतिष्ठा हो, यसलाई बन्द गर्नतर्फ कसैले सोच्नु हुँदैन, जसरी पनि चलाउनुपर्छ,’ उनले भने ।

आफ्नो पहिलो प्राथमिकता उद्योग सञ्चालन गर्ने वातावरण बनाउने भएको भन्दै समितिका सभापति कोइरालाले सबैको इच्छाशक्ति भए असम्भव नरहेको बताएका छन् । ‘सिस्टम फलोअप नभएकाले उद्योग घाटामा गयो, अझै केही बिग्रेको रहेनछ, सबैको इच्छाशक्ति भए चलाउन गाह्रो छैन, सकिन्छ,’ उनले भने, ‘अहिलेसम्म त यो कम्पनीलाई दुहुनु भैंसी बनाइएको हामीले अन्दाज गर्यौ ।’

उत्पादन बन्द हुँदैमा उद्योग नै सकियो भन्न नमिल्ने उनको भनाइ थियो । उद्योग सञ्चालनका क्रममा व्यवस्थापकीय समस्या देखिएको बताउँदै कोइरालाले नयाँ सोच र तरिकाबाट उद्योग सञ्चालन गर्न जरुरी भएको बताए ।
समितिले कम्पनी डुबायोः कर्मचारी
अहिलेको सञ्चालक समितिबाट कुनै हालतमा उद्योग नचल्ने कार्यरत कर्मचारी तथा मजदुरले बताएका छन् । अर्थ तथा विकास समितिबाट भएको स्थलगत अनुगमनका क्रममा भएको छलफल कार्यक्रममा कर्मचारीले उद्योग डुब्नुमा सञ्चालक समिति मुख्य जिम्मेवार रहेको आरोप लगाए ।
‘हाम्रो कारणले उद्योग १ दिन पनि बन्द भएको छैन, हामी अझै काम गर्न तयार छौं, उद्योग चल्दा सामान खरिददेखि विभिन्न स्थानमा चुहावट सबैले देखेकै थिए, हामी त मजदुर बोल्न नमिल्ने,’ उद्योगमा कार्यरत हरेराम पोखरेलले भने, ‘हामी कति दिन हाजिर गर्न आउने, ३ वर्ष बितिसक्यो, अब त आएर हाजिर गरेर बस्न लाज पनि भइसक्यो ।’

पहिला २४ सै घन्टा सञ्चालन हुँदा ओभरटाइम गर्दिन भन्दा पनि जबरजस्ती गराउने गरेको स्मरण गर्दै २७ वर्षदेखि कार्यरत मजदुर ईश्वर परियारले भने, ‘पहिला उत्पादन धानिसाध्य थिएन, ओभरटाइम पनि जबरजस्ती गर्नुपथ्र्यो, अहिले यो हालत छ । सम्मानजनक बिदाइ गरिनुपर्ने तथा अनिर्णयको बन्दी बनाउन नपाइने उनले बताए । उद्योग सञ्चालनका क्रममा प्रतिदिन ठूला खाले ३ सय र साना खालका टायर २ सय ५० थान उत्पादन गर्ने गरेको परियारले बताए ।

नेपालमा जलमार्ग र रेलमार्ग नभएकाले अझै पनि सडक मार्गकै भर पर्नु परेको हुँदा टायरको बजार बलियो रहेको उद्योगका इन्जिनियर हृदयराम चौधरीले बताए । उनले उद्योगमा झण्डै १५ करोडका मेसिनको आयु दिनप्रतिदिन घट्दै गएको बताए । उमेर हदका कारण उद्योग बन्द भएपछि ६४ जनाले बिनाप्रक्रिया अवकाश पाए ।

यही अवस्थामा तलब, भत्तासहित उत्पदानका लागि १ अर्ब २५ करोड आवश्यक रहेको उनीहरुको भनाइ छ । उद्योग सञ्चालनका लागि अर्बांै रकम आवश्यक रहेको कार्यरत लेखा प्रमुख दिनेश कार्कीले बताएका छन् ।

अनगुमन तथा छलफल कार्यक्रममा प्रदेश सदस्य हरिशरण आचार्य, पियोडी थापा, डोबाटे विक, सरीता गुरुङ, पुष्पा केसी भण्डारी, मीनप्रसाद गुरुङ, प्रदेश सभा उपसचिव नारायणप्रसाद अधिकारी, अर्थ तथा विकास समितिका सचिव ईश्वरी ढकाल, गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई सञ्चारकर्मी लगायतको सहभागिता थियो ।

समितिले अध्ययन तथा छलफलबारे प्रतिवेदन तयार गरी प्रदेश सरकारलाई बुझाउने बताएको छ । प्रदेश सरकाले बन्द भएका गोरखकाली रबर उद्योगसहित भृकुटी कागज उद्योगसमेत स्थलगत अध्ययन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्