एसिड पीडित वसन्तीको निःशुल्क उपचारको व्यवस्था गर्छौं : मेयर रेनु दाहाल

लाेकपाटी न्यूज
0 Shares

भरतपुर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एसिड आक्रमणमा परेकी कावासोती डण्डाकी वसन्ती परियारको उपचार खर्च निःशुल्क गर्न निर्देशन दिएकी छिन् । महानगर प्रमुख दाहालको निर्देशनपछि भरतपुर अस्पताल व्यवस्थापनले भरतपुर अस्पतालमा उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने जनाएको छ ।

महानगर प्रमुख दाहालले वसन्तीको उपचारमा चासो दिँदै भनिन्, ‘घाइते वसन्तीको उपचारमा कुनै कमी हुन दिने छैनौँ ।’ महानगर प्रमुख दाहालले शनिबार भरतपुर अस्पतालमा पुगेर वसन्तीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् ।

महानगर प्रमुख दाहालसँग पीडित वसन्तीका परिवारले आर्थिक अवस्था कमजोर भएको हुनाले उपचारमा सहयोग गरिदिन आग्रह गरेका थिए । परिवारको आग्रहपछि महानगर प्रमुख दाहालले भरतपुर अस्पताललाई वसन्तीको उपचार निःशुल्क रुपमा गरिदिन निर्देशन दिएकी हुन् ।

बिरामीलाई भेटेपछि प्रमुख दाहालले उच्च मनोबल बनाउन आग्रह गरिन् । उनले उपचारमा भइरहेको प्रगततिबारे संलग्न चिकित्सकबाट जानकारी लिएकी थिइन् । प्रमुख दाहालले थप उपचारका लागि अन्यत्र लैजानुपर्ने भए आवश्यक समन्वय गर्नसमेत निर्देशन दिइन् । एसिड प्रहारजस्तो अमानवीय अपराध गर्नेलाई हदैसम्मको कारबाही गर्नसमेत उनले प्रशासनलाई निर्देशन दिएकी छिन् ।

महानगर प्रमुख दाहालसँग प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, अस्पतालका मेसु डा. कृष्ण पौडेल, प्रहरी उपरीक्षक सुशीलसिंह राठौर, सामाजिक अभियन्ता मीना खरेल भरतपुर अस्पताल पुगेका थिए । गत सोमबार बजारबाट घर फर्कदै गरेकी वसन्तीलाई कावासोती डण्डा हरमासी टोलमा छिमेकी बिमल श्रीपालीले एसिड खनाएका थिए । श्रीपालीलाई कावासोती प्रहरी नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्