काठमाडौं ,१४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दक्षिण अमेरिकी मुलुक कोस्टारिका पुगेका छन् । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन न्यूयोेर्क पुगेका उनी उतैबाट कोस्टारिका पुगेका हुन् ।
कोस्टारिको सान जोस अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई स्वागत गर्न त्यहाँका उपराष्ट्रपति इप्सी क्याम्वेल बार विमानस्थल पुगेकी थिइन् । कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री ओली कोस्टारिका पुगेका हुन् ।
प्रधानमन्त्री ओलीसँगै पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू कोस्टारिका पुगेका हुन् ।
प्रधानमन्त्री ओलीले सान जोसमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुई पक्षीय भेटवार्ता गर्नेछन् । त्यस्तै सान जोसमै शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पिस) मा प्रवचन दिने कार्यक्रमसमेत रहेको छ । त्यहाँ उनलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिने छ ।
यसअघि प्रधानमन्त्री ओलीलाई गत चैतमा भारतको राजकीय भ्रमणका क्रममा त्यहाँको उत्तराखण्डमा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्व विद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो ।
त्यस्तै सन् २०१० मा उनलाई विवादास्पद ग्रिनफोर्ड युनिभर्सिटीले काठमाडौंमा विशेष दीक्षान्त समारोह आयोजना गरी मानार्थ विद्यावारिधिको उपाधि दिएको थियो । विश्वविद्यालय नै विवादमा परे पछि उनीसँगै उपाधि पाउने हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठसहितका अन्य व्यक्तिले उपाधि फिर्ता गरे पनि ओलीले उपाधि फिर्ता गरेका छैनन् ।
उनलाई पुनः पिस युनिभर्सिटीले मानार्थ विद्यावारिधि प्रदान गर्न लागेको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयको आधिकारिक वेबसाइटमा प्रधानमन्त्री ओलीलाई डाक्टर खड्ग प्रसाद ओली भन्ने सम्बोधन गरिएको छ ।
प्रधानमन्त्री ओलीले सोमवार विश्वविद्यालयको रोर्डिगो काराजो क्याम्पसको भ्रमण गर्ने कार्यक्रम छ । त्यहाँ उनलाई नेपालमा प्रजातन्त्रको संस्थागत तथा शान्ति प्राप्त गर्न खेलेको भूमिकाका कारण मानार्थ विद्यावारिधिबाट सम्मान गर्न लागिएको विश्वविद्यालयले जनाएको छ ।
सोही क्रममा नेपालले युनिभर्सिटी फर पिसको स्थापना सम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर गर्ने छ । नेपालका तर्फबाट सन्धिमा परराष्ट्र मन्त्रालयका अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । योसँगै नेपाल विश्वविद्यालय चार्टर अंगिकार गर्ने ४१ औं मुलुक हुने छ ।
प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा प्रवचन दिने भएपछि शान्ति विश्व विद्यालय स्थापनासम्बन्धी सन्धिलाई सांसदले अनुमोदन गरिसकेको छ । गत मंगलवार सांसदबाट प्रस्ताव हतारमा स्वीकृत भएको हो ।
बैठकले शान्ति विश्व विद्यालय स्थापना गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताको सम्मेलन गर्ने सम्बन्धी प्रस्तावलाई स्वीकृत गरेको हो ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले सो प्रस्ताव संसदमा पेस गरेका थिए । ‘कोस्टारिकाको राष्ट्रपतिले विश्वविद्यालयमा प्रवचनका लागि हाम्रो प्रधानमन्त्री ज्यूलाई आमन्त्रण गर्नु भएको छ । उहाँ जाँदै हुनु हुन्छ । त्यस कारण यो प्रस्तावलाई छिटो अगाडि बढाउन खोजिएको छ,’ थापाले भनेका थिए ।
के हो युनिभर्सिटी फर पिस?
यो विश्वविद्यालय सन्धि संगठनको रूपमा स्थापना भएको हो । संयुक्त राष्ट्र संघको सन् १९८०, ५ डिसेम्बरमा सम्पन्न महासभाबाट पारित सङ्कल्प प्रस्ताव ३४÷५५ ले यसको चार्टरलाई अन्तर्राष्ट्रिय सन्धिको रूपमा अंगिकार गरेको थियो ।
यो विश्वविद्यालयले शान्ति सम्बन्धी अध्ययन , अनुसन्धान, मानव तथा मानव समाजको विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दछ। यसको चार्टरमा हस्ताक्षर गर्ने देशका विद्यार्थीहरूले अध्ययन शुल्कमा ३० प्रतिशत छुट प्राप्त गर्ने व्यवस्था छ ।
यो विश्विद्यालय संयुक्त राष्ट्र संघको एक अंगको रूपमा रहेको छ । विश्व विद्यालय सञ्चालनका लागि युनिभर्सिटी काउन्सिलमा राष्ट्र संघका महासचिव र युनिस्कोका महासचिवले मनोनयन गर्ने व्यवस्था छ ।
विश्व विद्यालयले सन् २०१२ देखि पिस एण्ड कन्फ्लिक्ट स्टडिजमा विद्यावारिधिको कक्षा सञ्चालन गरेको छ ।