इन्डोनेसियामा भूकम्प र सुनामीबाट व्यापक क्षति

Tsunami
लाेकपाटी न्यूज
0 Shares

पालु, १४ असोज । इन्डोनेसियाको तटीय शहर पालुमा शुक्रबार ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीले व्यापक क्षति गरेको छ ।

सुलावेसी टापुमा आएको शक्तिशाली भूकम्प र सुनामीका कारण मृत्यु हुनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

पछिल्लो विवरण अनुसार मृत्यु हुनेको संख्या ८३२ पुगेको छ । उनीहरुले खोजी र उद्दार कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने जनाएका छन् ।

इन्डोनेसियाका उपराष्ट्रपति जुसुफ कल्लाले पालु शहरका भित्री इलाकासम्म उद्दारकर्ताहरु अझै पुग्न बाँकी रहेकाले मृतकको संख्या हजार भन्दा बढी हुनसक्ने बताए ।

मृत्यु भएकामध्ये अधिकांश पालु नगरका स्थानीयबासी रहेका छन्। अरु सयौँ घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् ।

अस्पतालका भवनहरूमा पनि क्षति भएकाले घाइतेहरूको उपचार खुल्ला ठाउँमा त्रिपाल टाँगेर भइरहेको छ ।
कतिपय मृत्यु भएकाहरुको शब सडकमै छरिएको अवस्थामा भेटिएको छ। भूकम्प र त्यसपछिको सुनामीका कारण ५०० जना भन्दा बढी घाइते भएको जनाइएको छ ।

प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वयमसेवकलगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्दारसँगै राहतका कामहरु पनि गरिरहेका छन्। पालु नगरका भग्नावशेषहरूमा कयौँ मानिसहरू हराइरहेको अनुमान गरिएको छ ।

भूकम्प र सुनामीले बस्ने घरहरु, विद्यालय, मस्जिद, अस्पताल, होटल र पसललगायतका भौतिक संरचनाहरुमा क्षति गरेको छ । अधिकारीहरुले अझै पनि शक्तिशाली परकम्पहरू आउनेक्रम जारी रहेको बताएका छन् । यसैवर्ष, लोम्बोकमा आएको शक्तिशाली भूकम्पमा परी ५५० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

इन्डोनेसियामा डिसेम्बर २००४ मा गएको ९.१ म्याग्नीच्यूडको भूकम्प र सुनामीका कारण इन्डोनेसियामा मात्र १ लाख ६० हजारभन्दा बढीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्