बेनी १४ असोज । म्याग्दीको नारच्याङमा निर्माणाधीन ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाको निर्माण स्थानीयबासीको अवरोधका कारण शनिबारदेखि ठप्प भएको छ । रोबस्ट इनर्जीद्वारा निर्माणाधीन आयोजनाको सुरुङको आउटलेटबाट निस्किएको पानी अव्यवस्थित रुपमा फालिँदा गएको पहिरो नियन्त्रणमा बेवास्ता गरेको भन्दै नारच्याङको अन्नपूर्ण युवा क्लबको अगुवाइमा आयोजना निर्माण कार्य बन्द गराएका हुन् ।
क्लबका सदस्य अमित पुनले आयोजनासँग वार्ता र लिखित सहमति नहुँदासम्मका लागि काम रोकिएको जानकारी दिए । नारच्याङ बेसीगाउँको सिरानमा रहेको डाडाँपारिमा सुरुङको आउटलेटबाट निस्किएको पानी व्यवस्थापन नगरिँदा पहिरो गएर ७ घरधुरीको खेतीयोग्य जमिन पुरीएको पुनले बताए ।
‘पाइपमार्फत पानीको सुरक्षित व्यवस्थापन, पहिरो नियन्त्रण र जग्गा तथा वातावरण संरक्षणको काम गर्नुपर्ने स्थानीयको मागलाई
आयोजनाले बेवास्ता गरेकाले बाध्य भएर काम बन्द गराएका हौं’, पुनले भने ।
स्थानीयबासीको माग सम्बोधन गराउन पहल गरेपनि आयोजनाका प्रतिनिधिले बेवास्ता गरेकाले समस्या भएको वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले बताए । आयोजनाका प्रतिनिधि चूडामणि निरौँला र परामर्शदाता कम्पनीका इन्जिनियर दिवाकर खड्कालाई मोबाइलमा सम्पर्क गर्दा फोन उठाएनन् ।
आयोजनाको सुरुङ निर्माणका क्रममा खानेपानीका मुहान सुकेको स्थानीयबासीको अर्को गुनासो छ । पानी निस्किएपछि आयोजनाको सुरुङ निर्माणसमेत प्रभावित बनेको छ । सन् २०१६ को जुन १३ देखि निर्माण सुरु भएको आयोजनाको बाँध, सुरुङ, विद्युतगृह, पेनस्टक पाइप जडानको काम ६० प्रतिशतभन्दा बढी सकिएको जनाइएको छ ।
नारच्याङको नीलगिरि र घलेम्दी खोलाको दोभानमा बाँध, २ हजार २८८ मिटर सुरुङ, एक हजार ५०० मिटर पेनस्टक पाइप र बेसीगाउँस्थित कालीगण्डकीको बाया किनारमा विद्युतगृह निर्माणाधीन अवस्थामा छ ।
नारच्याङ बेसीगाउँदेखि बाँधसम्म पुग्ने ६ किलोमिटर सडक र तिन वटा बेलिब्रिज निर्माण गरेको छ । आयोजनाको पाँच अरब ६४ करोड रुपैया लागत अनुमान गरिएको छ ।