पोखरा १५ असोज । नेपाल निर्माण व्यवशायी महासङ्घका अध्यक्ष शरद कुमार गौचनको हत्या अभियोगमा नख्खु जेलको नयाँ ब्लक राखिएका समिरमानसिंह बस्नेतलाई सोमवार प्रहरीले पोखरा हुँदै जोमसोम लगेको छ ।
बुद्ध एयरको जहाजमा बिहान पोखरा ल्याइएका बस्नेतलाई प्रहरी भ्यानमा मुस्ताङतर्फ लगेको हो । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा बस्नेतलाई २०७४ मंसिरमा भारतको दिल्लीबाट प्रहरीले पक्राउगरी नख्खु जेलमा राखेको थियो ।
बस्नेतलाई सोमवार बिहान बुद्ध एयरमा काठमाण्डौंबाट पोखरा ल्याउँदा प्रहरी पोशाकमा एकजना प्रहरी सँगै थिए । बस्नेतलाई नख्खु जेलबाट पोखरा हुँदै जोमसोम लगिने पत्तो आइतवार साँझ पाएकी बस्नेतकी श्रीमती माया शेरचन देवरहरुलाई लिएर राति नै पोखरा आएकी छन् ।
पोखरा विमानस्थलमा भेटिएकी मायाले नख्खु जेलमा रहेका श्रीमानलाई एकाएक जहाजबाट पोखरा ल्याएर जोमसोम कारागारमा लग्नुमा प्रहरीको षड्यन्त्र रहेको सुनाइन् । कास्कीका एक प्रहरी अधिकृतले पनि बस्नेतलाई जोमसोम जेलमा लगिएको बताए ।