काठमाडौं, १५ असोज । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कर सम्बन्धि अराजकता फैल्याउनेमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् साथै पोखरेलले दोहोरो कर लिए त्यसविरुद्ध प्रतिकारमा उत्रिन निजी क्षेत्रका व्यवसायीहरुलाई आह्वान गरेका छन् ।
सोमबार ललितपुर उद्योग वाणिज्य संघको ३९ औ वार्षिक साधारण सभामा उनले स्थानीय, प्रदेश र संघीय सरकारबीच कानुनको ठेगान नलागेकाले कर सम्बन्धि अराजकता देखिएको उल्लेख गर्दै ती समस्या छिट्टै समाधान हुने बताए ।
उनले सर्वसाधारणलाई मारमा पार्ने गरी सरकारले कर नलिने स्पष्ट पारे । पोखरेलले कर सम्बन्धि सबै समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले व्यवसायीहरु करको मारमा परेको भन्दै सरकारसँग गुनासो गरिन् । उनले स्थानीय र प्रदेश सरकारले दोहोरो करको मारमा पारेपछि व्यवसायीहरु आतंकित हुनुपरेको बताइन् । महासंघले करको दायरा बढाउन तर दोहोरो करको मारमा नपार्न सरकारलाई दवाव दिँदै आएको छ ।