काठमाडौं, असोज १६ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नयाँ बानेश्वरमा रहेको संगम मिठाई पसलमा शिल गरेको छ । अनुगमन टोलीले अखाद्य वस्तु मिसावट गरेर मिठाई बनाएको भेटिएपछि त्यस मिठाई पसलको उत्पादन केन्द्र र बिक्री वितरण केन्द्र दुवै शिल गरेको हो ।
मंगलबार अनुगमन टोलीले त्यो मिठाई पसलको मिलन चोकमा रहेको उत्पादन केन्द्र र नयाँबानेश्वरस्थित बिक्री वितरण केन्द्र दुवैको अनुगमन गरेको थियो । अनुगमनको क्रममा खाद्य अनुसन्धान अधिकृतहरुले मिठाई बनाउन प्रयोग गर्ने गरेको तेल, पाउडरलगायतका कच्चा सामग्रीहरुको परीक्षण गरेको थियो ।
परीक्षणको क्रममा ७ वर्ष अघिको ‘डेट एक्स्पायर’ भएको पाउडरको समेत प्रयोग भएको पाइएपछि मिठाई पसल शिल गरिएको विभागका खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले जानकारी दिए । विभागले त्यस पसललाई खाद्य ऐन अन्र्तगत कार्वाही गर्ने पनि स्पष्ट पारेको छ ।
सरकारले दसैं, तिहारको अवसर पारेर उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन काठमाडौंलगायत देशभरका मुख्य मुख्य सहरमा अनुगमनको कामलाई तीव्रता दिएको हो ।
उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल हुने गरी अखाद्य वस्तु मिसाएको पाइएमा त्यस्ता वस्तु उत्पादन केन्द्रमाथि कडा कारबाही हुने पनि विभागका अनुसन्धान अधिकृत सुवेदीले चेतावनी दिए ।
विभागले यस वर्ष अनुगमनको क्रममा उत्पादन केन्द्रको भौतिक अवस्था, कानुनी पक्ष र त्यसमा प्रयोग गर्ने प्रविधिमाथि पनि कडा निगरानी राखेको छ । सरकारले खाद्य स्वच्छता अभियान अन्तरगत बजार अनुगमनको कामलाई सुरु गरेको हो ।