कसले छोड्ला बामदेवका लागि सांसद पद ?

bamdev gautam
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १७ असोज । निर्वाचन क्षेत्र छोड्न नेकपाका कुनै पनि सांसद तयार नभएपछि नेकपाका नेता बामदेव गौतमको संसद् प्रवेश अभियानमा पूर्णविराम लागेको छ ।

अब भवितव्यवश कुनै निर्वाचन क्षेत्र स्वतः खाली भएमा मात्र बामदेवले मौका पाउने स्थिति बनेको छ । शुरुमा ललितपुरको दक्षिणी क्षेत्रबाट निर्वाचित नवराज सिलवाललाई राजीनामा गराएर त्यहीँबाट चुनाव लड्ने सोच बनाएका बामदेव नवराजसँग कुरै नगरिकन पछि हटेका थिए ।

ललितपुरबाट निर्वाचनमा विजयी बन्न नसकिने देखिएपछि गौतम पछि हटेको बताइन्छ । त्यसपछि छोरा हरिश गौतमका साथी रहेका डोल्पाबाट विजयी सांसद धनबहादुर बुढालाई छोरामार्फत कन्भिन्स गराइयो । बुढाले सांसद पद छोड्न आफू मन्त्री बन्नुपर्ने सर्त राखेपछि वामदेवले आफ्नो कोटाबाट उनलाई राज्यमन्त्री बनाइदिएका थिए ।

पूर्वशर्त बमोजिम बुढाले भदौ १५ गते नै सांसद पदबाट राजीनामा दिइसक्नुपर्ने थियो । राजीनामाका लागि बुढाले जिल्लाका मतदातासँग एकसरो छलफल पनि गरेका थिए । तर, बुढा आफ्नै समर्थकहरुको घेराबन्दीमा परे । विभिन्न कारणले राजीनामा नदिएपछि यतिबेला बामदेवले धनबहादुरबाट धोखा भएको ठानेका छन् ।

धनबहादुरले धोका दिएपछि वामदेवले दर्जनौँ सांसदहरूलाई भेटी आफ्नो लागि ठाउँ खाली गरिदिन आग्रह गरिसकेका छन् । राजेन्द्र राईदेखि कञ्चनपुरका दीपकप्रकाश भट्ट र दैलेखका रवीन्द्रराज शर्मा, बाँकेका नन्दलाल, प्यूठानकी दुर्गा पौडेल, बझाङका भैरवबहादुर सिंहलगायत दर्जनौँ सांसदलाई वामदेवले गरेको आग्रह खेर गएको छ ।

त्यसैले अब वामदेवको सांसद बन्ने योजनामा पूर्णविराम लागेको छ । कुनै अप्रत्यासित र विशिष्ट स्थिति सिर्जना भएको अवस्थामा बाहेक संसद्को विद्यमान कार्यकालभित्र गौतम सांसद नबन्ने निश्चितप्रायः भएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्