काठमाडौं, १७ असोज । खानेपानी मन्त्री बीना मगर महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलनमा सहभागी भई बुधबार स्वदेश फर्किएकी छन् ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै खानेपानी मन्त्री मगरले सम्मेलनमा सहभागी सबै राष्ट्रहरुले सरसफाइको क्षेत्रमा साझा सङ्कल्प गर्नुपर्नेमा जोड दिएको जानकारी दिइन् ।
उनले सरसफाई क्षेत्र सबैका लागि साझा एजेण्डा भएको बताइन् । उनले भनिन्, ‘अहिले सबै राष्ट्रले सरसफाई तथा ढलको बारेमा चिन्ता र चासो देखाएका छन् । नेपालले सरसफाइको क्षेत्रमा अरुको भन्दा राम्रै उपलब्धि हासिल गरेको छ ।
‘ढलको व्यवस्थापन गर्नु अहिले सबै राष्ट्रका लागि चिन्ताको विषय बनेको देखियो’ मन्त्री मगरले भनिन्, ‘हामी पनि ढलको समूचित व्यवस्थापनमा जोड दिइरहेका छौं ।
मन्त्री मगरले राज्यका सबै निकायले सरसफाई र ढलको क्षेत्रमा विशेष गम्भिर भएर सोच्नुपर्ने अवस्था आइसकेको बताइन् । उक्त सम्मेलनमा भाग लिन उनी गत शुक्रबार भारतको नयाँ दिल्ली प्रस्थान गरेकी थिइन् ।
महात्मा गान्धीको १५० औं जन्मजयन्तीको अवसरमा भारत सरकारले आयोजना गरेको ४ दिने सम्मेलनमा नेपालको तर्फबाट उनले भाग लिएकी थिइन् ।
सम्मेलनमा खानेपानी मन्त्रीसँगै खानेपानी तथा ढल निकास विभागका उप–महानिर्देशक सुनीलकुमार दाससमेत सहभागी रहेका थिए । उक्त सम्मेलनमा ६० भन्दा बढी देशका खानेपानी तथा सरसफाई मन्त्रीहरुको सहभागीता थियो ।