कतारसँगको व्यापार घाटा कम गर्नुपर्छ : राजदूत अल हेल

chember program
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १७ असोज । नेपालका लागि कतारका राजदुत युसुफ विन अल हेलले नेपालको कतारसँगको व्यापार घाटालाई कम गर्न कतारले आगामी दिनमा थप पहल गर्ने बताएका छन् ।

नेपाल चेम्वर अफ कमर्सले बुधबार चेम्वर भवन, कान्तिपथमा आयोजना गरेको “व्यापार, पर्यटन, लगानी तथा श्रमको दृष्टिकोणबाट नेपाल–कतार आर्थिक सम्बन्धका सम्भावना र अवसर’’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताएका हुन् ।

उनले कतार–नेपाल सम्बन्धको महत्वबारे जोड दिँदै भने, “चार लाखभन्दा बढी नेपालीहरु कतारमा श्रम गरिरहेको र जसबाट हरेक वर्ष करीब २ खर्ब नेपाली रुपैंयाँ नेपाल भित्राएर नेपालको अर्थतन्त्रमा टेवा पुर्याइरहेको अवस्था छ । नेपाल र कतारबीच ’कतार ऐयर वेज’को प्रतिदिन हुने ५ वटा उडानले दुइ देशको कनेक्टिभीटीको अवस्थालाई जनाउँछ । कतारले नेपालसँग आगामी दिनमा कृषि र लगानी संरक्षण सम्बन्धि सम्झौता गर्ने कुरालाई ध्यानमा राखेको छ ।’’

कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल र कतार दुवै देशहरु प्राकृतिक श्रोतमा धनी भएको र व्यापार, पर्यटन, कृषि तथा मानवीय श्रोतको परिचालन र आपसी सहकार्यमा प्रचुर सम्भावना र अवसर रहेकाले त्यसको सदुपयोग गर्ने बेला आएको बताए । नेपाल–कतार व्यापारलाई सन्तुलनमा ल्याउने कुरा मुख्य प्राथमिकताको विषय भएकाले सोहीअनुसार कृषि, पर्यटन र उद्योगमा कतारबाट नेपालमा भइरहेको लगानीमा वृद्धि हुनुपर्ने उनको धारणा थियो ।

नेपालमा स्थिर सरकार बनेको र वर्तमान सरकार लगानीमैत्री वातावरण बनाउन गम्भिर देखिएकोले कतारका लगानीकर्ताहरुले नेपालमा लगानी बढाउने सही समय आएको उनले बताए ।

कार्यक्रममा पर्यटन, लगानी र श्रमको विषयमा क्रमशः नेपाल होटल सङ्घका महासचिव विनायक शाह, चेम्बरकै अर्का उपाध्यक्ष नरेश श्रेष्ठ र वैदेशिक रोजगार बिभागका शाखा अधिकृत रञ्जन प्रसाद तिमिल्सिनाले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरु सहित चेम्बरसँग आवद्ध करीब ८० जनाको उपस्थिति थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्