के प्रचण्ड सरकारको बिकल्प खोज्दैछन् ?

Chair-Dahal-Prachanda-1-750x430
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १७ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्डको भारत, चीन र सिङ्गापुर भ्रमणलाई लिएर राजनीतिक वृत्तमा अनेकौं अनुमान गर्न थालिएको छ । कतिपयले प्रचण्डले एकपछि अर्को तीन देशको भ्रमण गर्नुलाई राजनीतिक उद्देश्यसँग जोडेर हेर्न थालेका छन् ।

आखिर किन गए प्रचण्ड भारत, चीन र सिङ्गापुर ? यसको खास उद्देश्य के थियो ? यसबारे नेकपाविरोधी कित्तामा आ–आफ्नै किसिमले अड्कलवाजी भइरहेको छ । यता, नेकपाभित्र माधव नेपाल समूहको अलग्गै भेलाको विषयलाई पनि प्रचण्डको भ्रमणसँग जोड्न खोजेको देखिन्छ ।

कतिपयले प्रचण्डको भ्रमणलाई ओली सरकारको प्रतिस्थापनको अर्थमा प्रचार गरिरहेका छन् । तर, नेकपाका अध्यक्ष प्रचण्डकै शब्दमा ‘भारत र चीन भ्रमण’ उनको सद्भाव भ्रमण हो । अनि, सिङ्गापुर भ्रमण विशुद्द पारिवारिक ।

भारत भ्रमण जानुभन्दा अघिल्लो दिन प्रचण्डले राष्ट्रिय मीडियाका सम्पादकहरुलाई लाजिम्पाटमा आमन्त्रण गरेका थिए । भेटका क्रममा प्रचण्डले आफूले निकट भविष्यमै भारत र चीनको मैत्रीपूर्ण भ्रमण गर्न लागेको जानकारी गराउँदै भ्रमणमा उठाउनुपर्ने विषयबारे विभिन्न सुझाव मागेका थिए । त्यसबेला सम्पादकहरुले सरकारका कामबारे गम्भिर समीक्षा गर्न प्रचण्डलाई सुझाएका थिए ।

सम्पादकहरुसँग प्रचण्डले आफ्ना कुरा खुलेरै राखेका थिए । भेटमा प्रचण्डले भनेका थिए, ‘विश्वलाई नै शक्तिशाली सन्देश दिने गरी हामीले पार्टी एकता गरेका छौं । यसबाट म निकै सन्तुष्ट छु । नेपाली इतिहासमा पहिलोपटक वामपन्थीहरुको दुईतिहाईको स्थिर सरकार बनेको छ । यो सरकार सफल हुँदा मात्र हामी सबै सफल हुन्छौं । मेरो सम्पूर्ण ध्यान सरकारलाई सफल बनाउनेमा केन्द्रित हुन्छ ।’

प्रचण्डका अनुसार यसपटकको उनको भारत र चीन भ्रमणको मूख्य उद्देश्य दुई देशबीच भएका सहमतिहरुको शिघ्र कार्यान्वयनका लागि कुटनीतिक पहल लिनु थियो । आफ्नो दोस्रो कार्याकालमा भएका द्वीपक्षीय सम्झौताहरुको कार्यान्यवनका लागि उनले भारत र चीन दुवैसँग गम्भिर छलफल गर्ने बताएका थिए । सोहीअनुसार उनले भारत र चीनसँग आफ्ना कुरा राखेका थिए ।

भारत र चीन दुवै भ्रमणमा प्रचण्डले ओली सरकारलाई सफल बनाउने आर्थिक एजेण्डामा परामर्श गरेका थिए । स्रोतका अनुसार प्रचण्डले नेपालको वामपन्थी सरकारलाई सबैतिरबाट घेराबन्दी भएकाले छिमेकीहरुको सहयोग र सद्भावका आधारमा ठूला परियोजना सञ्चालन गर्ने र त्यसकै बलमा सरकार विरुद्धको घेराबन्दी तोड्न चाहन्थे । यसकारण उनी पार्टी अध्यक्ष र पूर्वप्रधानमन्त्रीका हैसियतले ओली सरकार सफल पार्ने उपायहरुको खोजी गर्न भारत र चीनको भ्रमणमा निस्किएका थिए ।

भ्रमणको सिङ्गापुर भ्रमण विशुद्द पारिवारिक भ्रमण थियो । पत्नी सीता दाहालको नियमित स्वास्थ्य परीक्षणका क्रममा नै उनी सिङ्गापुर पुगेका थिए । केही वर्षयता छोरा ज्ञानु र छोरा प्रकाशको निधन भएपछि सीता दाहालको स्वास्थ्य कमजोर बन्दै गएको छ । पारिवारिक पीडामा रहेका प्रचण्ड पार्टी कामको व्यवस्थापन गर्दै परिवारलाई पनि समय दिन थालेका छन् । यसबाहेक सिङ्गापुर भ्रमणमा कुनै राजनीतिक एजेण्डा थिएन र भएन ।

हाल प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच कुनै राजनीतिक र व्यक्तिगत मतभेद छैन । नेकपाको केन्द्रीय कमिटी र प्रदेशको नेतृत्व उनीहरुले एक मतले नै टुङ्गाएका छन् । पार्टी एकतायता दुवै नेताहरुले आफूलाई एक–अर्काको परिपुरकका रुपमा उभ्याउँदै आएका छन् । अहिले प्रचण्डलाई सरकार परिवर्तनको चलखेलमा लागेको प्रचार गरेर ओली–प्रचण्ड बीचको सम्बन्धमा तिक्तता ल्याउन असम्भव प्रयास भएको नेकपाका एक नेताले बताए ।

ओली र प्रचण्ड विदेश रहेको बेला बरिष्ठ नेता माधव कुमार नेपालले आफ्नो असन्तुष्टि सार्वजनिक रुपमै प्रकट गरे । उनले आफ्नो असन्तुष्टि राख्न अलग्गै भेलाको आयोजना गरे । तर, त्यो भेला आवश्यक नभएको ओली–प्रचण्डको समान धारणा छ । पार्टीलाई बलियो बनाएर शक्तिशाली सन्देश दिनुपर्ने बेला अलग्गै भेला बोलाएर असन्तुष्टि राख्दा कार्यकर्ता र शुभेच्छुकमा नकारात्मक सन्देश गएको छ ।

ओली–प्रचण्डबीच पार्टी र सरकार सञ्चालनबारे ठोस समझदारीअनुसार नै ओली नेतृत्वको सरकार अघि बढिरहेको छ । यद्यपि, यस बीचमा घटेका केही घटनाहरुले राजनीतिक रङ्ग लिँदा सरकार अप्ठ्यारोमा परिरहेको छ । यसलाई कतिपयले सरकार असफल भएको निष्कर्षसमेत निकाल्न थालेका छन् । तर, अहिले नै सरकारको पूर्ण समीक्षा गर्ने बेला नभएको ठान्छन् प्रचण्ड ।

ओली–प्रचण्ड मिल्दा नै राजनीतिमा ठूल–ठूला निर्णयहरु भएका छन्, नतिजा आएको छ । आजको यथार्थ यही हो । अहिलेकै परिस्थितिमा प्रचण्डले ओली सरकारको बिकल्प खोज्ने पक्षमा छैनन् । ओली–प्रचण्डबीच दरार पैदा गर्न गलत प्रचार गर्न थालिएको नेकपाका नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्