कांग्रेसले थपेको ८ खर्ब ऋण ओली सरकारले तिर्दैछ : मन्त्री खनाल

chakrapani khanal22
लाेकपाटी न्यूज
0 Shares

सिन्धुली । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले विगतमा कांग्रेस नेतृत्वको सरकारले झण्डै ८ खर्ब रुपैयाँ स्रोत सुनिश्चितता गरी दायित्व तिर्नुपर्ने भार थपेको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री खनालले काँग्रेस नेतृत्वको सरकारले थपेको ऋण अहिले तिरिरहेको दावी गरेका हुन् ।

खनालले पहिले अस्थिर सरकारलाई जस्तो आलोचना गर्ने अवस्था अहिले नरहेकाले अधिकतम उत्पादनमा जोड दिन आग्रह गरेका छन् । उनले कृषि क्षेत्रको विकास लागि आफूले केही राम्रा योजना तथा कार्यक्रमहरु सुरु गरेको उनले बताए। सरकारले स्थानीय किसानको समस्या समाधान गर्न लागि परेको बताएका छन् ।

खनालले सिन्धुलीको स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पुर्याउन सरकारले प्रधानमन्त्री आधुनिकीकरण परियोजनाका रुपमा जुनारका लागि सुपरजोन क्षेत्र तोकेको बताएका हुन् ।

कार्यकर्तासँगको अन्तरक्रियामा उनले आफूले कृषि क्षेत्रको विकासका लागि ठोस योजनाका साथ काम गर्ने उल्लेख गरेका छन् । नेकपाका स्थायी समिति सदस्य समेत रहेका खनालले पार्टीमा देखिएका केही अन्तरविरोध देखिएपछि त्यसबाट कार्यकर्ता निराश हुनुपर्ने अवस्था नरहेको बताए।

उनले अहिले देश नयाँ संघीय संरचनामा गएकाले प्रदेश र स्थानीय सरकारले गर्ने काममा केही अन्यौलता देखिए पनि त्यसको समाधानका लागि मन्त्रिपरिषदमा निरन्तर छलफल भइरहेको बताए ।

पाँच वर्षका लागि आएको स्थायी सरकारबाट जनताले केही बढी अपेक्षा राखेकाले पहिलो वर्षमा नै केही अन्योलताले निराश हुने स्थिति आएजस्तो देखिए पनि नआत्तिन कार्यकर्ता तथा नागरिकलाई आग्रह गरे। अहिले केन्द्रमा पार्टी एकता भइसकेको र तल्लो तहमा पनि एकता छिट्टै हुने उनको भनाइ थियो।

सरकारले सुरुवातमा राम्रो काम गर्न नसकेको उनले स्वीकारे । तर, अहिलेको सरकारले राम्रा कामको जग बसाल्दै गरेको बताउँदै खनालले प्रधानमन्त्रीले भनेजस्तै तीन वर्षमा ‘वाह’ भन्ने काम गरेर देखाउने दावी गरे।

‘पहिलो वर्षमा राम्रो काम भएन भनेर नआत्तिनुस्, कार्ययोजना बनाउनुस् र दोस्रो वर्षमा कार्यान्यनमा ल्याउनुस्, तेस्रो वर्षमा ‘वाह वाह’ भन्ने गरी काम गर्नुस् भन्ने प्रधानमन्त्रीको निर्देशन छ’, उनले भने।

त्यसैगरी, पूर्व कृषिमन्त्री हरिबोल गजुरेलले आफूले किसानका पक्षमा केही राम्रा कार्यक्रम ल्याए पनि त्यसको कार्यान्वयन हुन नसकेको बताए। उनले किसान पेन्सन, प्रधानमन्त्री आधुनिकीकरण लगायतका कार्यक्रमहरु आफूले अघि सारेको बताए।

गजुरेलले अहिलेको स्थायी सरकारले पनि किसानमूखी कार्यक्रम ल्याएकाले त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए। गजुरेलले कृषि, पर्यटन र उर्जाका माध्यमबाट देशको आर्थिक समृद्धि र विकास सम्भव रहेको बताए।

उक्त कार्यक्रममा कार्यकर्ताहरुले पनि जिल्लामा देखिएको समस्या, सम्भावना र सरकारले केही क्षेत्रमा सहयोग गर्नुपर्ने बारेमा सुझाव राखेका थिए।