कञ्चनपुर, १८ असोज । नजिकिँदै गरेका दशैँ र तिहारलगायत चाडपर्वमा सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति दिलाउन र आपराधिक घटना घट्न नदिन जिल्ला प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको छ ।
योजनाअनुसार २४सै घण्टा प्रहरी परिचालन गर्ने व्यवस्था मिलाइएको र मातहतका एकाइका संवेदनशील स्थान, सीमा नाका, तथा राजमार्गमा पनि कडाइका साथ जाँच गर्नाका साथै राजमार्ग, बजार क्षेत्रमा मोबाइल गाडी, मोटरसाइकल र साइकलबाट गस्तीको व्यवस्था मिलाइएको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए ।
आपराधिक गतिविधि हुने संवेदनशील स्थान पहिचान गरी प्रहरी खटाएका छौँ उनले भने, “महत्वपूर्ण स्थान, रेष्टुरेण्टमा गैरकानूनी क्रियाकलाप हुन नदिन खानतलासीको व्यवस्था पनि मिलाइएको छ ।”
प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाका अनुसार भीमदत्तनगर बजार क्षेत्रको बसपार्कमा नागरिक सहायता केन्द्र स्थापना गरिएको छ । भारतबाट वैदेशिक रोजगारी गरी सीमा नाका गडडचौकी भएर फर्किने नागरिकको सहयोगका लागि प्रहरीले इप्रका गडडचौकीमा नागरिक सहायता कक्ष राखेको छ ।
“सीमा नाकामा लागूऔषधलगायत अन्य अवैधरूपले ल्याइएका वस्तु जाँचका लागि तालीमप्राप्त कुकुर प्रयोग गरिने व्यवस्थासमेत गरेका छौँ ” उनले भने, “आवश्यकताअनुसार बजार र अन्य क्षेत्रमा सादा पोशाकमा प्रहरीसमेत परिचालन गरिने छ ।”
चरेससहित दुई पक्राउ
कञ्चनपुरको भीमदत्तनगरपालिका–१३ पिपरैयाबाट प्रहरीले दुई जनालाई लागूऔषध चरेससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा पसल सञ्चालक वर्ष ३७ का मनोजदत्त पन्त र चरेस खरिद गर्ने नगरपालिकाको वडा नं. १८ का ३२ वर्षीय तीर्थ टमटा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए ।
टमटाले चरेस २८८ ग्राम पसल सञ्चालक पन्तबाट खरिद गरिरहेका बेला दुवैलाई पक्राउ गरी बुधबार जिल्ला अदालत कञ्चनपुरबाट पाँच दिनको म्याद थप गराएर लागूऔषध कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।