काठमाडौं १८ असोज । निर्मला पन्तको हत्यारालाई कार्वाही र न्याय माग्दै विहीबार सिंहदरवारको दक्षिण गेटमा प्रदर्शन गरेका छन् । ‘निर्मलाका निम्ति न्याय अभियान’ का समर्थकहरुले दक्षिण गेटमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरुले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्टले प्रमाण नष्ट गर्न भूमिका निभाएको भन्दै कारर्वाही गर्न माग गरेका थिए भने गृहमन्त्री रामबहादुर थापा बादल तथा प्रहरी प्रमुख सर्वेन्द्र खनालको समेत राजीनामा माग गरेका थिए ।
उनीहरुले सिंहदरवारको गेटमा प्रर्दशन गर्दै ‘निमर्लालाई न्याय दे, बलात्कारीलाई फाँसी दे’ लगायतका नारा लगाएका थिए । प्रहरीले उनीहरुलाई बलपूर्वक नियन्त्रणमा लिएका थिए ।
यसका साथै निर्मलाका बलात्कारी र हत्यारालाई तुरुन्त पक्राउ गरी कारवाही हुनुपर्ने, निलम्बन गरिएका एसपी डिल्ली विष्टलाई विभागिय कारवाही मात्रै नभएर फौजदारी कानुन अन्तरगत कारवाही गर्नुपर्ने उनीहरुले माग गरेका थिए ।
यसअघि बुधबार निर्मलाको न्यायका निम्ति धनगढीमा महिला अधिकारकर्मीहरुले मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएका थिए भने सडकमा झाडू जुलुस निकालेका थिए ।