काठमाडौं, १८ असोज । सत्तारुढ नेपाल कम्युनिसट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले निर्मला पन्त हत्या प्रकरणमा प्रहरी महानिरीक्षक (आईजिपी) सर्वेन्द्र खनालको बर्खास्ती माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएपछि विवाद उत्पन्न भएको छ ।
तत्कालिन एमाले निकट अनेरास्ववियु र माओवादी निकट अखिल क्रान्तिकारीभित्र विवाद भएको हो । दुई पार्टी एकीकरण भएपनि भातृ संगठन एकीकरण भएका छैनन् । बिहीबार विहान अनेरास्ववियु अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोलीले गृहमन्त्रीलाई भेटेर आईजिपीलाई बर्खास्त गर्न माग गरेको थियो ।
नेकपाबाट प्रतिनिधिसभा सदस्यसमेत रहेकी सांसद नविना लामासहित सत्तारुढ दलका विद्यार्थी संगठनले सरकारका एक सुरक्षा प्रमुखको राजीनामा र बर्खास्ती मागिनु सरकार विरुद्धकै कदम भएको भन्दै दुवै संगठनका अन्य नेताले आपत्ति जनाएका छन् ।
अनेरास्ववियुका महासचिव ऐन महर र अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले गृहमन्त्री समक्ष बुझाइएको ज्ञापनपत्र र आइजिपीको बर्खास्तीको माग संस्थागत निर्णय नभएको बताएका छन् । उनीहरुले सरकारको एउटा कर्मचारीको राजिनामा माग्ने काम संगठनले नगर्ने बताएका छन् ।
महासचिव महरले आईजीपी बर्खास्तीको माग व्यक्तिगत हुन सक्ने भन्दै संगठनमा त्यसबारे छलफल र निर्णय नभएको बताए । उनले केहीबेरमा संगठनको आधिकारिक धारणा आउने भन्दै पार्टी अध्यक्ष नेतृत्वको सरकार र पार्टी सचिवालय सदस्यले कमाण्ड गरेको गृह प्रशासनको सन्दर्भमा एउटा कर्मचारीको राजीनामा माग्ने विषय नभएको बताए ।
अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले दुवै विद्यार्थी संगठनको आधिकारिक छलफल, बैठक र निर्णयबिना केही व्यक्ति प्रतिपक्षभन्दा बढी प्रतिपक्ष भएर हल्काफुल्का रुपमा प्रस्तुत भएको टिप्प्णी गरेका छन् ।
पुनले सरकारविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको बेला प्रहरी प्रमुखको राजीनामाको मागपत्र बुझाउने शैली गलत भएको बताएका छन् । उनले दुईचार दिनको सस्तो लोकप्रियतामा नलाग्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
यता अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने दुवै संगठनका पदाधिकारीको छलफलबाटै सो ज्ञापनपत्र बुझाइएको दावी गरेका छन् ।