सत्यमानलाई नछोडेपछि सांसद लामाले मागिन् आइजिपीको राजीनामा

लाेकपाटी न्यूज
0 Shares

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियूले काभ्रेकी सांसद नविना लामा लगायतको समूहले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको बर्खास्तीका लागि बुझाएको ज्ञापन–पत्र सांगठनिक नभई व्यक्तिगत ‘इगो’ मात्र भएको देखिएको छ ।

अनेरास्ववियुका महासचिव ऐनबहादुर महरले भने, ‘त्यसमा हाम्रो संगठनको कुनै संलग्नता छैन, व्यक्तिगत रिसइवी साँधेर उनी आइजीपी बर्खास्तीको ज्ञापनपत्र बोकेर गृह मन्त्रालय पुगेकी हुन् ।’

‘यस विषयमा संगठनको एक प्रेस विज्ञप्ति सार्वजनिक हुँदैछ, सोही विज्ञप्तिलाई आधार मान्नुहोला ।’, संगठनका महासचिव महरले भने । अहिलेको अवस्थामा आईजीपीलाई बर्खास्ती गर्नु वा हटाउनुको कुनै औचित्य नभएको पनि उनले स्पष्ट पारे ।

आइजीपी बर्खास्तीको ज्ञापनपत्र उनको व्यक्तिगत ‘इगो’ भएको भनाइ महरको छ । त्यसो त पूर्वमाओवादीनिकट अखिल (क्रान्तिकारी) का नेताहरुले पनि आइजिपीको राजीनामा माग्ने निर्णय संगठनले कहीँकतै नगरेको बताएका छन् ।

सत्यमान काण्डदेखि माणिकलालसम्म

काठमाडौं उपत्यकामा हुने गरेका श्रृङ्खलाबद्ध अपराधका घटनामा संलग्न सत्यमान लामालाई पक्राउ गरेको विरोधमा नेकपा काभे्रकी सांसद लामा प्रहरी संगठन नै बर्खास्तीको माग गर्दै गृह मन्त्रालय पुगेकी छिन् ।

रक्तचन्दन तस्करीबाट अपराध पृष्ठभूमि बनाएका सत्यमान पछिल्लो समय बुद्धचित्रको अवैध कारोबार र गुण्डागर्दीमा संलग्न थिए । सत्यमानलाई प्रहरीले पहिलोपटक पक्राउ पर्दा सांसद नविना नै महानगरीय प्रहरी परिसर टेकु पुगेर प्रहरीलाई दबाब दिँदै आफू नै जिम्मेवारीमा छुटाएकी थिइन् ।

तर, दोस्रोपटक पक्राउ पर्दा प्रहरीले नछोड्ने अडान लिएपछि हारगुहार गर्न नविना प्रहरी महानिरीक्षक खनाल कहाँ पुगेकी थिइन् । आईजीपी खनालले कानूनी कारवाही हुने बताएपछि उनी प्रहरीको विरोधमा उत्रेको अनेरास्ववियूका नेताहरु बताउँछन् ।

तर, पछि नविनाले आफू नगई आफ्ना बुबा माणिकलाल तामाङलाई सत्यमानलाई छुटाउन खटाएकी थिइन् । माणिकलालले नै सत्यमानलाई १७ दिनको प्रहरी हिरासतको बसाइपछि जिल्ला अदालतको आदेशमा जिम्मा लिएका थिए ।

प्रहरी नै बर्खास्तीको माग

उनले गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाउने क्रममा नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाललाई मात्र होइन, प्रहरी संगठन नै बर्खास्त गर्नुपर्ने बताएकी थिइन् । तर, अन्य सहभागीले संगठन होइन, सर्वेन्द्र भनेपछि बोली सच्याएकी एक सहभागीले बताए ।gyapan patra

अनेरास्ववियुकी अध्यक्षसमेत रहेकी सांसद नविनाको सहयोगी सत्यमान जस्तो अभियुक्तलाई संरक्षण दिने कार्यको सर्वत्र निन्दा गरिएको छ । नविनासँगै अर्का विद्यार्थी नेता रञ्जित तामाङ समेत सहभागी थिए । तामाङलाई लामाले फसाएको क्रान्तिकारीभित्र चर्चा सुरु भएको छ ।

गृहमन्त्रीले दिए उल्टै सुझाव

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सांसद नविना लगायतका विद्यार्थी नेताहरुको मागपत्रप्रति मौन देखिएका छन् । ‘हुन्छ, म के र’छ बुझौँला’, मन्त्री बादलले भने, ‘गृह मन्त्रालय विरुद्ध घेराबन्दी भइरहेका बेला तपाईहरू आइजीपी बर्खास्तीको कुरा गर्नुहुन्छ शान्तिसुरक्षा कसले गर्छ ?’ बादलले उनीसँग प्रतिप्रश्न गरेका थिए ।

मन्त्रीको सचिवालयका अनुसार मन्त्री बादलले सांसद लामालाई गुण्डाको संरक्षणमा नलाग्न समेत सुझाव दिएको बताइएको छ । अभियुक्त सत्यमान लामा सांसद नविनाको नजिकका सहयोगी हुन् ।

को हुन सत्यमान ?

विशेष महाराजगञ्ज चुनदेवी क्षेत्रलाई गुण्डागर्दीको ‘अखडा’ बनाउँदै आएका सत्यमानले त्यस क्षेत्रमा गुण्डागर्दी, चन्दा असुली, धम्की दिन गरेको प्रहरी बताउँछ ।

डान्स रेष्टुरेण्ट ब्यवसायी समेत रहेका लामाले सांसद नविनाको आडमा काभ्रेमा बुद्धचित्त मालाको अवैध व्यापारसमेत गर्ने गरेको जानकारी प्रहरीले दिएको छ ।

लामाले धम्की तथा दबाब दिएर काभ्रे जिल्लाका विभिन्न ग्रामीण बस्तीमा बुद्धचित्तको रुख नै कब्जा गर्ने, नदिनेहरुलाई मार्ने धम्की दिने गरेको स्रोत बताउँछ । प्रहरीका अनुसार काभ्रेली समूहका नाममा गुण्डागर्दी गर्ने व्यक्तिहरुमा लामा पहिलो समूहमा पर्छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्