‘सस्तो बजारमा नेपालीको आकर्षण बढ्दैछ’ : पूर्वप्रम खनाल

opening-800x445
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले काठमाडौं सुन्धरामा सञ्चालित मेला बजारको उद्घाटन गरेका छन् । खनालले बिहीबार एक समारोहका बीच व्यवसायी शिवहरि अर्यालद्वारा सञ्चालित ‘मेला बजार’को उद्घाटन गरेका हुन् ।

मेलाको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री खनालले नेपाली जनता महङ्गीको चपेटमा परेका बेला सुपथ मूल्यसहितको मेला बजार सर्वसाधारणका लागि निकै उपयोगी हुने बिश्वास व्यक्त गरे । उनले दिन दुई गुना र रात चौगुनाको हिसाबले महङ्गी बढिरहेका बेला जनतालाई सुबिस्ता दिने उद्देश्यसहित खोलिएका पसल र मेलामा आफनो पूर्ण समर्थन रहने बताए ।

उनले पवित्र उद्देश्यसहित सेवायुक्त भावनाले अघि बढिरहेका व्यवसायीलाई साथ दिन सबैलाई आग्रह गरे । नेकपाका वरिष्ठ नेता खनालले भने, ‘बडादशैंको समयमा मात्रै नेपालमा २ खर्बको किनमेल हुने गर्दछ । बढ्दो महङ्गी सरकारले पनि नियन्त्रण गर्न सकेको छैन । यस्तो बेला जनताको चाहना अनुसार सुपथ मूल्यसहितको मेला लाग्नु निकै खुशीको कुरा हो ।’

उनले सबै उपभोक्तालाई मेला बजारमा आई बढीभन्दा बढी फाइदा लिन आग्रह गरे । मेला सञ्चालकका अनुसार उपभोक्तालाई सर्वसुलभ मूल्यमा स्वदेशी तथा बिदेशी सामानहरु एउटै छातामुनि उपलब्ध गराउने गरी मेला सञ्चालन गरिएको हो ।

अन्य स्थानभन्दा यो क्षेत्रमा ५० प्रतिशत सस्तोमा सामान उपलब्ध हुने जनाइएको छ । मेलामा उच्च गुणस्तरयुक्त सामान, स्वदेशमै निर्मित जुत्ता, चप्पल, सारी, ल्याङ्गा, पुरुष तथा महिलाहरुका लागि आवश्यक सामान, चश्मा, कस्मेटिक, विद्युतीय सामान, डिलाइट ब्राण्डका म्याट्रेसहरु राखिएका छन् ।

प्रशस्त पार्किङ, नेपाली स्वाद अनुसारका रेष्टुरेन्ट र ब्युटिपार्लरको पनि सुविधा भएकाले सबै क्षेत्र र वर्गका उपभोक्ता आकर्षित हुने सञ्चालकको दावी छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्