यस्तो छ कर्मचारीले दिनहु भ्रष्टाचार नगर्ने शपथ लिनुपर्ने नियम

Corruption
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं १९ असोज । सबै निजामती कर्मचारीले बिहीबारदेखि कार्यालय प्रवेश गर्नासाथ अनिवार्य रूपमा भ्रष्टाचार नगर्ने शपथ लिनुपर्ने भएको छ ।

उनीहरूले दिनभर काम गर्दा कुनै किसिमको मोलाहिजा नगर्ने र आफ्नो स्वार्थअनुसार काम नगर्ने शपथ दिनहुँ लिनु पर्नेछ । यससँगै ८८ हजार निजामती कर्मचारीले बिहान कार्यालय समय सुरु हुनासाथ एकै पटक भ्रष्टाचारविरोधी शपथ लिने छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार सबै मन्त्रालय, केन्द्रीय निकाय, आयोग, नियोगलगायतमा पत्राचार गर्दै देशभर रहेका मातहतका कर्मचारीलाई भ्रष्टाचारविरोधी शपथ गराउन निर्देशन दिएको छ ।

प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार सबै कार्यालयले बिहीबारदेखि शपथ लिन लगाउने छन् । प्रधानमन्त्री कार्यालयले शपथका साथै भ्रष्टाचार नगर्ने बेहोराको साइनबोर्ड देशभर सबै सरकारी कार्यालयमा अनिवार्य रूपमा टाँस्न पनि सर्कुलर गरेको छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको सरकारी नीति व्यवहारमा उतार्न यस्तो निर्णय गरिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए ।
प्रधानमन्त्री कार्यालयले शपथको बेहोरा र ढाँचा तयार पारेको छ ।

कर्मचारीले ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्न । म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्छु’ भनेर दैनिक शपथ लिनु पर्नेछ । प्रवक्ता कुँवरले शपथ लिएर पनि कर्मचारीले प्रभावकारी काम गरे नगरेको माथिल्लो तहबाट अनुगमन हुने बताए ।

सरकारी कर्मचारी अहिले पनि सुशासन कायम गर्न जिम्मेवार नभएको, भ्रष्टाचारमा लिप्त रहेको र आफ्नो स्वार्थमा नै केन्द्रित भएकाले त्यो प्रवृत्ति रोक्न यस्तो अभियान थालिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । सङ्घीय लोकतान्त्रिक शासन प्रणालीलाई सफल बनाउन सुशासन कायम हुनुपर्ने अनिवार्य सर्त भएकाले सोहीअनुसार सबै पक्ष जिम्मेवार बन्नुपर्ने प्रवक्ता कुँवरको भनाइ छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्