काठमाडौं, १९ असोज । सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चुलिएको असन्तुष्टि मत्थर पार्ने प्रयास स्वरुप त्यसका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको छ ।
खासगरी यसअघि उनीहरुले गरेको प्रदेश नेतृत्वको छनौट सम्बन्धी निर्णय, स्थानीय तहमा पार्टी एकीकरण र गुट तथा उपगुटबाट आएका आलोचनाबारे समिक्षा गर्न दुईअध्यक्ष करीब दुई सातापछि वालुवाटारमा बसेका हुन् ।
उनीहरुको व्यस्तताले लामो समय पार्टी एकता र त्यसमा देखिएका समस्याबारे बहस भएको थिएन । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार कुन्दन अर्यालका अनुसार दुई अध्यक्षको छलफलले सचिवालय बैठक र पार्टीको स्थायी कमिटिको बैठकको बारे पनि छलफल भएको छ ।
प्रदेश नेतृत्वको छनौट स्थायी कमिटिले गर्नु पर्ने भएपनि केन्द्रीय सचिवालय अर्थात दुई अध्यक्षको निर्णयमा भएको भन्दै कमिटिका सदस्यहरु असन्तुष्ट बनेका छन् ।
खासगरी उक्त निर्णयमा सहभागि नभएका पार्टीका तेस्रो वरियताका माधव कुमारले त्यसको असुन्तष्ट संसद र आयोजित चियापानमार्फत व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर बिहीबार स्वदेश फर्केका प्रधानमन्त्री ओलीले साँझदेखिनै पार्टीका नेताहरुसँग पछिल्लो विकसित राजनीतिबारे चासो राखेको बुझिएको छ । उनले स्वदेश फर्कनासाथ दुई चार दिनमै तल्लो तहको पार्टी एकताको सन्देश सबैले पाउने घोषणा समेत गरेका थिए ।