काठमाडौं, २१ असोज । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनलाई अब थप लान्छित हुने अवस्था नआउने दाबी गरेका छन् ।
केही समययता प्रहरी प्रमुखको चौतर्फी विरोध हुन थालेपछि नेपाल प्रहरीका महानिरीक्षक संगठन शुद्धीकरणको काममा लागेको बताउन थालेका छन् ।
आइतबार प्रहरी दिवसको अवसरमा आयोजित ‘प्रहरी दिवस रनिङ पुरुष भलिबल प्रतियोगिता’मा महानिरीक्षक खनालले संगठनलाई लान्छित हुने अवस्था हुन नदिने दाबी गरेका हुन् । महानिरीक्षक खनालले भने,”अब प्रहरीलाई लान्छित हुन दिँदैन । तपाइहरू साथ दिनुहोस् म व्यावसायिक प्रहरी संगठनको रूपमा स्थापित गराउँछु।”
निर्मला हत्या प्रकरण, भक्तपुर इन्काउन्टर र देशमा बढ्दै गएको एसिड प्रकरणमा प्रहरी आलोचित हुँदै आएको छ । महानिरीक्षक खनालले संगठनभित्रको एक प्रहरीको कारण पुरै संगठनको बदनामी हुने भएकाले सबै प्रहरीलाई इमानदार भएर काम गर्ने निर्देशन दिएका थिए । त्यस्तै गलत काम गर्ने प्रहरीलाई कारबाही गर्ने चेतावनीसमेत दिए । “केही व्यक्तिले गर्दा संगठनको बदनाम भयो । त्यस्ता कीरा र धमिरालाई फाल्न लागीपरेको छु,” महानिरीक्षक खनालले भने ।
नागरिक र सरकारको प्रहरीसँग विश्वास भएकाले नागरिकमैत्री भएर काम गर्नसमेत खनालले निर्देशन दिए। प्रहरीले निष्ठा र इमानदारीका साथ काम गर्न सके नागरिकको मनमनमा र दिलदिलमा बस्न सक्छ,” उनले भने ।
पुरुष भलिबल प्रतियोगिता कार्यक्रममा प्रदेश ३ लाई पराजित गर्दै प्रदेश नम्बर ५ प्रहरी कार्यालय विजेता बन्यो। विजेतालाई ५० हजार रुपैयाँ र उपविजेतालाई ३५ हजार रुपैयाँ नगद पुरस्कार महानिरीक्षक खनालले हस्तान्तरण गरे।