नागढुंगा नौबिसे सडकखण्डमा गाडीको आवागमन सामान्य

Road
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २१ असोज । नागढुंगा नौबिसे सडकखण्डमा गाडीको आवागमन सामान्य हुन थालेको छ । दुई दिन अघिसम्म अस्तव्यस्त यो खण्डमा हिजोदेखि गाडीको आवागमन सामान्य भएको ट्राफिक प्रहरीले जनाएको छ ।

नागढुंगा नौबिसे सडकखण्डमा पर्ने पिपलामोडमा सडक कालोपत्रे गर्ने काम सकिएकाले जाम कम भएको हो ।

यस्तै हरेक दिनको जामले यात्रुले सास्ती पाएपछि प्रहरीले विशेष टोली खटाएको छ । ट्राफिक प्रहरीको विशेष टोली पनि मोटरसाइकलसहित ठाउँ ठाउँमा खटिएका छन् ।

गाडी बिग्रिए तुरुन्त हटाउने उपकरण पनि राखिएकाले जाम हट्न थालेको नागढुंगाका प्रहरी नायब निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

उनका अनुसार सडक विभागले बिग्रिएका गाडी हटाउन लोडरको व्यवस्था गरेको छ । नागढुंगा नौबिसे खण्डमा गाडी बिग्रिदा र पिचको कामले धेरै जाम हुने गरेको थियो ।

यो खण्डमा १५ दिनसम्म यात्रु १० घण्टासम्म जाममा बस्न बाध्य भएका थिए । तर अब गाडीको आवातजावत सामान्य भएकाले ढुक्क भएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

नागढुंगा नौबिसे सडकखण्डमा अस्थायी चौकी राखेर प्रहरीले गाडीको व्यवस्थापन सुरु गरेको छ । यस्तै कलंकी– नागढुंगासम्मको यात्रा पनि केही सहज भएको छ ।

हरेक दिनको जाम र बढ्दो धुलोका कारण असर परेको भन्दै स्थानियबासिन्दाले आन्दोलन गरेपछि यो सडकखण्डका खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्