निर्मला हत्या प्रकरण : यस कारण निलम्बनमा परे दुई प्रहरी

Nirmala Panta
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २२ असोज । १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटना अनुसन्धानमा लापर्वाही गरेको भन्दै थप दुई प्रहरी निलम्बनमा परेका छन् ।

समितिको प्रतिवेदनका आधारमा दुई जनालाई निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापा क्षेत्रीले जानकारी दिए ।

घटना भएको दिन निर्मला पन्तको शवको लुगा पखाल्ने चाँदनी साउद र सई हरसिंह धामीलाई निलम्बन गरिएको हो ।

साउदले निर्मलाको शवको कपडा पखाल्न र तिघ्रा सफा गर्न कसैले नभनेको सरकारले गठन गरेको छानबिन समितिलाई बयानमा बताएकी थिइन् ।

भदौ ७ गते सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिको सिफारिस अनुसार यसअघि नै ६ जना प्रहरीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

निलम्बनमा पर्नेहरूमा एसपी डिल्लीराज विष्ट, डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामी रहेका छन् ।

घटनामा प्रहरीप्रति शंका बढेपछि गृह मन्त्रालयले तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टलाई भदौ ९ निलम्बन गरेको थियो ।

डिएसपी जिसी केन्द्रीय अनुसन्धान व्यूरोबाट अनुसन्धान गर्ने गएका प्रहरी हुन् । निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार दिनपछि अनुसन्धानका लागि सिआइवीको टोली कञ्चनपुर पुगेको थियो ।

एआइजी धिरु बस्नेतको नेतृत्वमा गठित समितिले घटनामा संलग्न सबै प्रहरीको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्