एसपी विष्ट र बम दिदीबहिनीमाथि पुनः छानविन गर्न सरकारलाई निर्देशन

Nirmala Panta
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २२ असोज । राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीमाथि पुनः छानबिन गर्न आइतबार सरकारलाई निर्देशन दिएको छ ।

कञ्चनपुर पुगेर घटनाको स्थलगत अध्ययन गरेको मानव अधिकार आयोगको टोलीले तयार पारेको प्रतिवेदनका आधारमा आयोगले सरकारलाई विष्ट र बम दिदीबहिनीमाथि पुनः छानबिन गर्नुपर्नेलगायत ८ बुँदे निर्देशन दिएको हो ।

प्रतिवेदनमा निर्मलाकी आमाले हारगुहार गर्दासमेत प्रहरीले खोजीमा तत्परता नदेखाएको तथा शव भेटिएपछि पनि प्रमाणको संरक्षण गर्नुको साटो नष्ट गरेको पाइएको उल्लेख छ ।

‘तत्कालीन जिल्ला प्रहरी प्रमुख विष्ट घटनास्थलमा आफैं उपस्थित भई आवश्यक सूचना प्रवाह तथा समन्वय गरेको नपाइएकाले उनीमाथि थप अनुसन्धान गर्नुपर्ने देखिएको’ आयोगले सरकारलाई दिएको निर्देशनमा उल्लेख छ । आयोगले रोशनी र बबिता बमलाई समेत शंकाको घेरामा राखी पुनः अनुसन्धान अघि बढाउनसमेत निर्देश गरेको छ ।

घटनामा शंकास्पद व्यक्तिहरूको डीएनए परीक्षण गरिए पनि ल्याबमा प्रयोग भएका औजार, रसायन, भिजाइनल स्वाबको सुरक्षा पर्याप्त भएनभएको पुनः विश्लेषण र जाँच गर्नसमेत आयोगले सरकारलाई निर्देशन दिएको छ ।

प्रहरी अनुसन्धानको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठदा आम नागरिक र पीडित परिवारमा निराशा बढेको उल्लेख गर्दै आयोगले दोषीलाई जतिसक्दो छिटो कार्वाहीको दायरामा ल्याउनसमेत सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्