लमही, २२ असोज । सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महराले दाङमा दुई विमानस्थल सञ्चालनमा आउने बताएका छन् ।
आजदेखि नियमित उडान थालेको टरिगाउँ विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख महराले नारायणपुरलाई अन्तर्राष्ट्रियस्तरको तथा तुलसीपुरको टरिगाउँलाई आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बताए । “दुवै विमानस्थल सञ्चालनमा आउँछन् ”, उनले भने ।
उनले तुलसीपुर विमानस्थलमा केही समयमै अस्थायी हवाई इन्धन डिपो सञ्चालनमा ल्याइने बताए । यसले विमानस्थल नियमित बनाउन थप मद्दत पुग्नुका साथै भाडामा पनि हेरफेर हुनसक्ने उनको भनाइ थियो ।
स्थायी इन्धन डिपो स्थापना गर्न आफूले पहल थालिरहेको भन्दै महराले स्थायी डिपो स्थापना भएमा अनियमितता हुने समस्याको अन्त्य हुने बताए ।
केही निजी एयरलाइन्सले दाङमा पाइलटको तालीम शुरु गर्ने भनी सरकारसँग प्रस्ताव गरेकाले त्यो पारित भएमा हवाईसेवा नियमित सञ्चालन गर्न सकिने उनले बताए । आजदेखि दाङको टरिगाउँ विमानस्थलबाट नियमित हवाईसेवा सञ्चालन हुनेछ । प्रत्येक हप्ताको सोमबार र शुक्रबार हवाईसेवा सञ्चालनमा आउने छ ।