बैतडी, २३ असोज । बैतडी–दार्चुला जोड्ने चमेलिया नदीमा हरेको पक्की पुल जीर्ण बन्दै गएको छ । आर्थिक वर्ष २०५९/६० मा निर्माण गरिएको सो पुलले बैतडीलाई दार्चुलासँग जोडेको छ ।
दार्चुला–बैतडी सडक खण्डमा पर्ने सो पुल जीर्ण अवस्थामा पुगेपनि मर्मतको पहल नभएको स्थानीय व्यापारी सुरेश श्रेष्ठले बताए । दार्चुलालाई सडक सञ्जालसँग जोड्ने १२० मिटर लामो सो पुल रु पाँच करोडमा निर्माण भएको हो ।
सोह्र वर्षअघि निर्माण पूरा भएको पुलको समयमा मर्मत र संरक्षण नहुँदा कमजोर बन्दै गएको छ । ‘निर्माणपछि पुल मर्मत गरिएको छैन’, उनले भने ।
उक्त पुल निर्माणसँगै दार्चुलाको सडक मार्गसँग जोडिएको हो । गुणस्तरयुक्त काम नहुँदा पुल जीर्ण बन्दै गएको स्थानीयवासी तिलक साउदले बताए ।
चमेलिया पुलले बैतडी र दार्चुलाको आर्थिक वृद्धिमा टेवा पुर्याएको छ भने देशका विभिन्न स्थानबाट आउने सयौं यातायातका साधन यही पुल भएर भित्रिने गरेका छन् ।
क्षमताभन्दा बढी र ठूला यातायातका साधनका कारण पुल जीर्ण बन्दै गएको हो । वर्खामा पानी पुलमै जम्मा हुने गरेको स्थानीयवासी अमरराज जोशीले बताए । “पानी जम्मा भएका बेला पैदल हिँडडुल गर्नसमेत सकिन्न” उनले भने ।
पुलमा आवतजावत गर्दा समेत हल्लिने गरेको स्थानीयवासी दानसिंह थलालले बताए । पुलको खम्बामा खिया लागेको छ । पुल मर्मतमा स्थानीय तहले समेत चासो देखाएका छैनन् ।
नदीले कटान गर्न थालेपछि पुल झन जोखिममा परेको छ । बजार क्षेत्रको फोहर फाल्ने ठाउँ पनि चमेलिया नदी बनेको छ । बैतडी–दार्चुला सडक आयोजनाले निर्माण गरेको उक्त पुलको अवधि ५ र ६ वर्ष मात्रै भएको सडक डिभिजन कार्यालय पाटन, बैतडीका इञ्जिनीयर शङ्कर खनालले बताए ।
‘कालोपत्र उप्कदैमा पुल जीर्ण हुँदैन’, उनले भने । सिङ्गल लेन भएको पुलमा एकै पटकमा धेरै गाडी ओहरदोहर गरेका कारण असर पुर्याएको उनको भनाइ छ ।