काठमाडौँ, २३ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ३८ सय किलो सुन तस्करीका अभियुक्त डा. डेबिटर भनिने ४० वर्षका छिरिङ वाङ्गेल घले एक कक्षामा भर्ना भएका छन् । उनी केन्द्रीय कारागार जगन्नाथ देवलको कैदीबन्दी प्राथमिक विद्यालयको एक कक्षामा भर्ना भएका हुन् ।
उनी सुन तस्करीको आरोपमै पक्राउ परेका राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङका साला हुन् । यसभन्दा अघि ल्याप्चे हान्ने घलेले हस्ताक्षर समेत जानिसकेको कारागार स्रोतले जानकारी दिएको छ ।
कारागारभित्रै तीन वटा स्कुल छ ।
बाह्र कक्षासम्मको बन्दी विकास माविमा २ सय ५० विद्यार्थी छन् । त्यसैगरी जगन्नाथ देवल माविमा १ सय ५० र घलेसहित प्राथमिक विद्यायलयमा ९० जना विद्यार्थी अध्ययनरत छन् ।
सुन काण्डका अभियुक्त घलेले गत जेठ २० मा मोरङ अदालतमा आत्मसमर्पण गरेका थिए । जेठ २८ मा केन्द्रीय कारागार काठमाडौं ल्याइएका घलेमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको छ ।