काठमाडौं, २३ असोज । नेपालका लागि युरोपियन युनियनका राजदुत वेरोनिका कोडीले नेपालको हवाई यातायातलाई कालो सूचिबाट हटाउन आफूले पहल गर्ने बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सद्वारा मंगलबार राजधानीमा आयोजित “ब्यापार, पर्यटन तथा लगानीको सन्दर्भमा नेपाल–यूरोपियन यूनियन आर्थिक सम्बन्धका सम्भावना’ विषयक अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । राजदूत कोडीले नेपालको हवाई यातायातलाई सुरक्षित पार्न हवाई क्षेत्रको नीति निर्माण गर्ने र सेवा प्रदान गर्ने निकाय छुट्टा–छुट्टै हुनुपर्ने सुझाव पनि दिए ।
राजदुत कोडीले नेपालको ब्यापार, पर्यटन र लगानीमा विकास गर्न भौतिक पूर्वाधार महत्वपूर्ण हुने कुरामा जोड दिए । रेलमार्ग, सडक मार्ग र जलमार्गको विकासले नेपालको विकासलाई तीब्र बनाउने विश्वास उनले व्यक्त गरे । साथै आफू नेपालसँग यूरोपियन यूनियनको सम्बन्ध थप प्रगाढ पार्न कटिवद्ध भएर लागेको उनले दावी गरे ।
नेपालको उत्पादनलाई युरोपको बजारमा पुर्याउनलाई नेपाललाई ‘प्रिफरेन्सियल ब्यापार पद्दति’ अन्तर्गत राख्न आफूहरु सकारात्मक रहेको कोडीले बताए । नेपालको कफी र पश्मिनाको बजार यूरोपमा उच्च रहेको भन्दै उनले यसलाई थप बढाउनुपर्ने कुरामा जोड दिए । यसो हुन गएमा नेपालको इयूसँगको ब्यापार घाटा कम हुने र त्यसले नेपालको अर्थतन्त्र बलियो हुने उनको भनाइ छ ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल पर्यटन वर्ष २०२० लाई मध्यनजर गर्दै नेपालको हवाई यातायात असुरक्षित रहेको भन्ने कुरामा इयूका देशहरुले चिन्ता नगर्न आग्रह गरे । नेपालको हवाई सुरक्षाको संवेदनशीलतालाई यथार्थपरक ढंगमा बुझिदिन समेत उनले आग्रह गरे ।
कार्यक्रममा श्रेष्ठले नेपालको ब्यापार, पर्यटन र लगानीमा इयूले थप सहयोग गर्ने सही समय आएको बताए । नेपालको समृद्धिका लागि इयूसँगको आर्थिक सम्बन्ध महत्वपूर्ण रहेको भन्दै उनले नेपालको उत्पादनलाई यूरोपमा निर्यात गर्नलाई थप सहयोग गर्न राजदुत कोडीलाई अनुरोध गरे ।
कार्यक्रममा ब्यापार, पर्यटन र लगानीमा क्रमशः ब्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका निर्देशक सुरेन्द्रनाथ गोंगल, नेपाल होटल संघका महासचिव विनायक शाह र नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष नरेश श्रेष्ठले छुट्टा–छुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए । चेम्बर भवन कान्तिपथमा सम्पन्न सो कार्यक्रममा १०० जनाको सहभागिता रहेको थियो ।