दशैंको नवरात्र सुरु, आज घटस्थापना

dashain
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं : आश्विन शुक्ल प्रतिपदा अर्थात् बडादसैँको पहिलो दिन दसैँघर तथा विभिन्न शक्तिपीठमा घटस्थापना गरिँदैछ।

बिहान शुभमुहूर्तमा दसैँघर तथा शक्तिपीठमा विशेष घडा थापिन्छ। यो घडामा विभिन्न देवीदेवताको आवाहन गरी पूजा गरिन्छ। यही घडामा भगवती दुर्गाको विशेष पूजा गरिन्छ र जौ छरिन्छ। विभिन्न जाति सम्प्रदायमा धान, गहुँ र मकैलगायत अन्न पनि छर्ने चलन छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनाको साइत बुधबार बिहान ७ बजेर १५ मिनेटमा छ।

साइत हेर्नेहरूका लागि यो समय दिइए पनि सामान्यतया बिहानीपख जुनसुकै समयमा घटस्थापना गर्न सकिन्छ। प्रतिपदादेखि नवमीको रातसम्म विशेषगरी राति देवीको आराधना गरिने भएकाले यो अवधिलाई ‘नवरात्र’ पनि भनिन्छ। वर्षका चारमध्ये शरद ऋतुमा पर्ने नवरात्रको विशेष महत्त्व पुराणमा बताइएको छ। यसलाई शारदीय नवरात्र पनि भनिन्छ।

नौ दिनसम्म दुर्गाका एक–एक स्वरूपको आराधना गरिन्छ। शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीलाई क्रमशः पुजिन्छ। यसैगरी शक्ति र पराक्रमकी देवी महाकाली, धन र वैभवकी देवी महालक्ष्मी तथा विद्या र बुद्धिकी देवी महासरस्वतीको पूजा आराधना गरिन्छ।

देवीको उपासना गरिएको देवीभागवत र मार्कण्डेय पुराणअन्तर्गतको दुर्गासप्तशती नवरात्रभर पाठ गरिन्छ। नेपाली ब्राह्मणहरूले शुक्ल यजुर्वेद वेद पनि पाठ गर्छन्। यो समयमा विभिन्न शक्तिपीठमा पुगेर शक्तिस्वरूपा भगवतीको पूजाअर्चना गर्ने परम्परा छ। काठमाडौंस्थित गुह्येश्वरी, संकटा, शोभा भगवती, मैतीदेवी, नक्साल भगवती, गोरखाको मनकामना, सिन्धुपाल्चोकको पाल्चोकभगवती, काभ्रेको पलाञ्चोकभगवती र बाँकेको बागेश्वरीलगायत शक्तिपीठमा भक्तजनको घुइँचो लाग्छ।

यसरी नौ दिन नौ रात देवीको पूजा आराधना गरी दशमीका दिन प्रसाद लगाउने परम्परा छ। नेपाली समाजमा भने नौ दिनमा तयार भएको जौका जमरा देवीको प्रसादस्वरूप मान्यजनको हातबाट लगाउने चलन छ। कतिपय स्थानमा पूर्णिमासम्म टीका लगाइन्छ।

दशमीका दिन घरका मान्यजन बुबा, आमा, हजुरबा, हजुरआमाबाट टीका थापेपछि मावली, बुढो मावली, ससुरालीलगायत सम्बन्धीकहाँ पूर्णिमासम्म पुग्ने चलन छ। भारत तथा नेपालको तराईका विभिन्न स्थानमा यस अवधिलाई ‘दशहरा’ का रूपमा मनाइन्छ।

यहाँ नौ दिनसम्म देवीको पूजा आराधना गरी दसौँ दिन प्रसाद लगाएपछि मूर्ति वा प्रतिमा विसर्जन गरिन्छ। नेपालीभाषी सनातन धर्मावलम्बी रहेका अन्य देशमा पनि विभिन्न कार्यक्रम गरी बडादसैँ मनाइन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्