के हो पार्किसन्स रोग ? यस्ता छन् लक्षण

Parkinsons Hand
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २४ असोज । चिनियाँ प्रविधि कम्पनी टेन्सेन्ट र लन्डनस्थित मेडिकल फर्म मेडोप्याडले पार्किन्सन्स रोग निदानका लागि ‘आर्टिफिशल इन्टेलिजन्सु (एआई) प्रयोग गर्न सहकार्य गरेका छन् ।

यस पद्धतिमा पार्किन्सन्स रोगका लक्षणको गम्भीरता खुट्याउन एउटा क्यामेराले बिरामीले हात चलाएको दृश्य खिचिराख्छ ।

चिकित्सकले परीक्षण गरिसकेका बिरामीका उपलब्ध भिडिओ प्रयोग गरेर अनुसन्धान टोलीले यो कम्युटरमा आधारित कृत्रिम प्रणालीको विकास गरेको हो ।त्यसका लागि लन्डनस्थित किङ्स कलेज हस्पिटलसँग पनि सहकार्य भएको थियो ।

“बिरामीले कुनै सेन्सर वा उपकरण बोक्नुनपर्ने गरी पार्किन्सन्स रोग बिग्रिएको पत्ता लगाउन हामी एआई प्रयोग गर्छौँ,” टेन्सेन्ट मेडिकल एआई ल्याबका प्रमुख डा. वेई फानले भने ।
प्रायः आधा घण्टाभन्दा बढी समय लाग्ने ‘मोटर फङ्शन’ निर्धारण प्रक्रियाको गति बढाउनु यसको उद्देश्य हो ।

मेडोप्याडले विकसित गरेको स्मार्टफोन प्रविधि प्रयोग गरेर अस्पताल नै नगई तीन मिनेटभित्र बिरामीको परीक्षण गर्न सकिन्छ भन्ने अपेक्षा छ । मेडोप्याडले विभिन्न रोग भएका बिरामीको परिस्थिति निगरानी गर्न एप्स र लगाउन मिल्ने उपकरणहरू विकसित गरेको छ ।

सो मेडिकल कम्पनी तीव्र गतिमा ठूलो हुँदैछ । तर चीनमा एआईको क्षेत्रमा विशाल लगानी भएको टेन्सेन्टसँग तुलना गर्दा यो अझै सानो नै छ ।

मेडोप्याडका प्रमुख कार्यकारी अधिकृत डान भाडाटका भन्छन् , “संसारभरि रहेका करोडौँ बिरामीलाई प्रभाव पार्ने हाम्रो लक्ष्य हो । र, त्यो परिस्थितिसम्म पुग्न हामीले अन्तर्राष्ट्रिय पहुँच भएका साझेदारसँग काम गर्नु आवश्यक हुन्छ ।”

अहिले अमेरिका र चीन आर्टिफिशल इन्टेलिजन्सको क्षेत्रमा नेतृत्व लिने प्रतिस्पर्धामा छन् । यही परिप्रेक्ष्यमा स्वास्थ्यसेवाको क्षेत्रमा एउटा ब्रिटिश फर्मले विशाल चिनियाँ कम्पनीसँग सहकार्य गर्नु कति बुद्धिमत्तापूर्ण हुन्छ भन्ने प्रश्न उठ्न सक्छ ।

वेई फान भन्छन् – यो सबैका लागि उपयोगी हुने खुल्ला र पारदर्शी योजना हुनेछ ।

उनका अनुसार चीन, अमेरिका र अन्य देशमा यसको परीक्षण गर्ने योजना छ ।

उनी भन्छन्, “हामी स्थानीय नियम कानुनको अक्षरशस् पालना गर्नछौँ। र नतिजा आएपछि त्यसले एउटा देशलाई मात्र नभएर पूरै संसारलाई लाभ पुग्नेछ ।”

पार्किन्सन्स रोगका बिरामीको उपचारका लागि योबाहेक अरू नयाँ प्रविधि पनि उपलब्ध छन् । स्विट्जल्र्यान्डको इन्स्टिट्युट फर रोबटिक्सका दुई अनुसन्धानकर्ताले एउटा स्मार्टफोन एप विकसित गर्दैछन् ।

त्यो एपले बिरामीले विभिन्न शारीरिक अभ्यास गरेपछि कम्युटरको प्रयोग गरेर परिणामको विश्लेषण गर्छ ।

के हो पार्किन्सन्स रोग ?

संसारभरि झन्डै एक करोड मानिसमा पार्किन्सन्स रोग भएको आकलन गरिएको छ । यो सङ्ख्या बढ्दै जानेछ ।

पार्किन्सन्स रोगलाई पहिला बुढ्यौलीको रोग मानिन्थ्यो। तर हिजोआज उल्लेख्य सङ्ख्यामा युवाहरूमा पनि यो रोग देखिएको छ ।

पार्किन्सन्स हुँदा बिस्तारै मस्तिष्कमा क्षय हुँदै जान्छ र शरीर काम्ने, हिँडडुल गर्न गाह्रो हुने र अन्ततस् विस्मृति हुने जस्ता समस्या देखिन्छन् ।

हाल उपलब्ध उपचारपद्धतिले लक्षण व्यवस्थापन गर्न मात्र सक्छ । मस्तिष्कका कोष मर्दै जाँदा रोगीको स्थिति झन् गम्भीर हुँदै जान्छ ।

कुनै औषधिले पनि यो रोग निको पार्न सक्दैन ।

तर एआई प्रविधिमा भएको विकासले पार्किन्सन्स रोगका लक्षण निवारणका लागि उपचार गर्न चिकित्सकहरूलाई सजिलो पार्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्