बामदेव प्रकरणले नेकपालाई ठूलो धक्का

Bam-Dev-Gautam
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २६ असोज । पछिल्लो समय उपनिर्वाचनको लागि सांसद रामवीर मानन्धरले बामदेव गौतमका लागि सिट खाली गर्ने प्रकरणलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र ठूलै भूकम्प गएको छ ।

पार्टी भित्र असन्तुष्टि चुलिएपछि त्यसलाई सम्बोधन गर्न भोलि शनिबारका लागि बोलाएको केन्द्रीय सचिवालय बैठक पर धकेलिने संकेत देखिएको छ ।

पार्टी उच्च स्रोतका अनुसार व्यापक असन्तुष्टि देखा परेपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले शिर्ष नेताहरूसँग एकपछि अर्को गर्दै छलफल गरिरहेका छन् र सकेसम्म ओलीले उनीहरुलाई मनाएर बैठकमा उक्त मुद्दालाई प्रवेश नगराउने प्रयासमा छन् । त्यस्तो नभए सचिवालय बैठक नै पर धकेल्ने प्रयास अध्यक्ष ओलीले गरिरहेको श्रोतको दाबी छ ।

यसैलाई लिएर प्रधानमन्त्री ओलीले नेता माधव कुमार नेपाल लगायतसँग शुक्रबार छलफल गर्दैछन् ।

‘सचिवालय बैठकलाई पर धकल्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको राजीनामा प्रकरण जस्तै अहिले चर्चामा रहेको बामदेव प्रकरणलाई पनि फासफुस गराउने रणनीतिमा ओली छन्,’ श्रोतले भनेको छ ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले पूर्व सम्झौता विपरित सरकारको नेतृत्व हातमा लिनका लागि प्रभावशाली नेता गौतमलाई सांसद बनाउने खेलमा लागेको बुझाइ प्रधानमन्त्री ओलीको रहेको श्रोतको दाबी छ ।

त्यसैले प्रधानमन्त्री ओली विरोधको बहाना देखाएर गौतमलाई संसदमा नभित्राउने मनस्थितिमा पुगेका बताइएको छ ।

गौतमलाई सांसद बनाउने तयारी पार्टीले गरेको सार्वजनिक भएपछि पार्टीका शीर्ष नेताहरू, झलनाथ खनाल, ईश्वर पोखरेल, भीम रावल लगायतले विरोध गरिरहेका छन् ।