लागु औषध विरुद्ध अभियान चलाउनुपर्छ : गृहमन्त्री थापा

Ram Bahadur Thapa
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २६ असोज । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लागु औषधको मूल नै सुकाउने गरी अभियान सुरु गर्नुपर्ने बताएका छन् ।

गृह मन्त्रालयले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा गृहमन्त्री थापाले यस्तो बताएका हुन् । उनले भने, ‘उपत्यकाको बाहिरी भागमा गाँजाखेती हुँदै आएको सूचना छ ।

तपाईहरुले यस्ता तस्करहरुको पहिचान गर्नुपर्नेछ । जनता र सरकार सँगै मिलेर मूल नै सुकाउनुपर्छ । त्यसपछि न बाँस रहन्छ न बज्छ बाँसुरी ।’

गृहमन्त्री थापाले लागु औषध उन्मूलन र मदिरा नियन्त्रण गर्ने कार्यमा जनतासँगको सहकार्यबाट सरकार अगाडि बढ्न तयार रहेको बताए । ‘समृृद्ध नेपाल, सुखी नेपाली’ र समाजवादको वाधक पनि मदिरा, लागु औषध नै भएको गृहमन्त्री थापाको भनाइ छ ।
‘मदिरा नियन्त्रण र लागु औषध निषेधलाई जनताको साथसँगै आन्दोलनको रुपमा अगाडि बढाउनुपर्छ ।

यसका लागि सरकारमात्रै होइन, हरेक वडा–वडा जाग्नुपर्छ । ७० प्रतिशत महिलाहरु मदिरा पिउनेबाट पीडित छन् ।,’ गृहमन्त्री थापाले भने । मुलुकको युवाशक्ति लागु औषधको लतमा फसिरहेकोमा चिन्ता व्यक्त गर्दै गृहमन्त्री थापाले शान्त र अनुशासित समाज निर्माणमा सबैको भूमिका रहने बताए । समाजवादको प्राप्तिपछि मात्रै जनता सुखी हुने गृहमन्त्री थापाले बताए ।

सोही कार्यक्रममा गृहमन्त्री थापाले अझै पनि मुलुकको शान्ति, स्थिरता र एकता भाँड्न केही तत्व सक्रिय रहेको बताए । गृहमन्त्री थापाले नेपाललाई विखण्डन गर्ने शक्तिहरु पनि लागेको बताउँदै जनताले त्यस्ता शक्तिहरुलाई पराजित गर्ने बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्