काठमाडौं, २७ असोज । राजधानीमा शनिबार नेपाल तरुण दलले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै कांग्रेस नेता प्रकाशमान सिंहले मुलुकका तमाम बिकृतिलाई रोक्न कांग्रेस आन्तरिक रुपमा मजबुत हुनुपर्ने बताएका छन् ।
नेतृत्व बहुमतको दम्भबाट फरक मत राख्नेलाई पेलेर जान चाहेकाले अहिलेको नेतृत्वबाट मुलुकका समस्या समाधान नहुने सिंहले बताए । पाटि विधि विधानअनुसार चलाउन नसक्नेले देशको नेतृत्व गर्न नसक्ने सिंहले बताए । उनले कांग्रेस लथालिंग भएको भन्दै चिन्ता व्यक्त गरे ।
‘एकातिर नेतृत्व कमजोर सावित भइरहेको छ, पार्टीका मूल्य मान्यता लत्याइएको छ’ सिंहले भने, ‘अर्कोतिर सरकार स्वेच्छाचारी बन्दै गएको छ । यसले देशलाई झन बर्वादीको दिशातिर लैजान्छ ।’
नेता सिंहले कालोबजारी बढेको भन्दै चिन्ता व्यक्त गरे । सिंहले भने, ‘देश लथालिंग छ, पार्टी लथालिंग छ, कालोबजारी मौलाएको छ । हामीले पहल नगर्ने हो भने दशे अराजकतातिर जान्छ ।’