बम दिदी बहिनीमाथि छानविन गरे अपराधी पत्ता लाग्ने टोलीलाई स्थानीयको सुझाव

nirmala-panta-
लाेकपाटी न्यूज
0 Shares

निर्मला हत्याकाण्डको छानविनका लागि नेपाल प्रहरीले गठन गरेको एआईजी धिरु बस्नेत नेतृत्वको टोलीले स्थानीय सरोकारवालासँग भेटघाट तथा परामर्श सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा शनिबार स्थानीय पत्रकारहरुसँग भेटघाट तथा परामर्श गरेको हो।

त्यस क्रममा एआईजी धिरु बस्नेतले आफुहरु अनुसन्धानमा लागेकोले अपराधी छिट्टै पत्ता लाग्ने बताएका छन्। आफूहरु घटनाको अनुसन्धानमा निकै केन्द्रित भएको बताउँदै उनले हत्यारा छिट्टै पहिचान हुने बताए। उनले भने, ‘हामी अनुसन्धानमा छौँ, यति दिन मै हत्यारा सार्वजनिक हुन्छ भनेर भन्न सकिदैन, केही समय लागे पनि दोषी उम्कन पाउदैन।’

यसअघि उनले स्थानीय पत्रकारहरुसँग घटनाको बारे परामर्श समेत गरेका थिए। उक्त परामर्शमा पत्रकारहरुले अहिलेसम्म भएका घटनाको जानकारी गराउँदै आफ्ना बिभिन्न सुझाव दिएका छन्। उनीहरुले सुरुको अनुसन्धान गर्ने टोली, बम दिदीबहिनी, निर्मलाका मामामाथि अनुसन्धान गर्नुपर्ने सुझाव दिएका हुन्। यस्तै निर्मलाका आमाबुवा तथा स्थानीयसँग पनि फेरि सोधपुछ गर्नु लगायतका सुझाव दिएका थिए।

पत्रकारहरुले दिएको उक्त जानकारीले अनुसनधानमा सहयोग पुग्ने एआईजी धिरु बस्नेतले बिश्वास ब्यक्त गरे। घटनाको छानविनका लागि गत ३१ भदौमा एआईजी धिरु बस्नेतको नेतृत्वमा चार सदस्यीय टोली शुक्रबार कञ्चनपुर पुगेको थियो। शुक्रबार कञ्चनपुर पुगेसँगै टोलीले घटनास्थल अवलोकन तथा निर्मलाको घर परिवारसँग भेटघाट गरेको थियो।

गत १० साउनमा ‘होमवर्क’ गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका २ कि निर्मला पन्त अर्को दिन स्थानीय उखुबारीमा बलात्कार पछि हत्या गरिएको अवस्थामा उनको शव भेटिएको थियो। घटना घटेको दुई महिनाभन्दा बढी समय भइसक्दा समेत हत्यारा पहिचान हुन सकेको छैन ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्