स्याङ्जा, २७ असोज । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले पाँच वर्ष भित्र सुकुम्बासी समस्याको समुल अन्त्य हुने बताएकी छन् ।
शुक्रबार मालपोत कार्यालय वालिङको भवन शिलान्यास तथा मालपोत कार्यालय अनलाइन सेवाको उद्घाटन गर्दै उनले भनिन्, ‘भूमि व्यवस्थापन ऐन छिट्टै संशोधन हुदैछ, ऐन निर्माणसँगै कोही सुकुम्बासी हुनुपर्ने छैन ।’ सार्वजनिक जग्गा माथि कसैले कड्के नजर नलगाउन उनले चेतावनी दिइन् ।
‘सुकुम्वासीको नाममा सार्वजनिक जग्गा हडप्ने चलखेल भइरहेको छ,’ उनले भनिन्, ‘सरकार त्यो दुष्प्रयासको समूल अन्त्य गर्दैछ । सार्वजनिक जग्गा, गुठीलाई प्राधिरकणमा लैजाने उनले दाबी गरिन् । उनले सार्वजनिक जमिनमा आँखा लगाउने दिन गएको पनि बताइन् ।
मालपोत कार्यालयको नाङ्लो फरामको अन्त्यसँगै बिचौलियाको दिन गएको उनले दाबी गरिन् । उनले भनिन्, ‘लेखापढीको नाममा बिचौलियाको दिन गयो, मालपोत र नापी उदाहरणीय कार्यालय बन्नेमा विश्वस्त छौं ।’
कर्मचारी राष्ट्रको स्थायी सरकार भएकोले जनताले महशुस हुने खालको सेवा दिन उनले कर्मचारीहरुलाई निर्देशन समेत दिइन् । उनले भनिन्, ‘जनतालाई सेवा दिँदा र्याल चुहाउन पर्दैन, कर्मचारीको मूल्याङ्कन राज्यले गर्नेछ ।’
मन्त्री अर्यालले मन्त्रालय सुधारका लागि आफूले गृहकार्य गरिरहेको पनि बताइन् । सरकारले जनताको पक्षमा काम गर्ने भन्दै अर्यालले त्यसबाहेक दायाँबायाँ गर्ने आफ्नो कुनै सोच नभएको बताइन् ।